काठमाडाैं । प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी ठाकुरले दाइजो लेनदेन हुने विवाहका कार्यक्रममा आफू सहभागी नहुने घोषणा गर्नुभएकाे छ।
उहाँले बुधबार राति सामाजिक संजालमार्फत यस्ताे घोषणा गर्नुभएकाे हाे । समाजमा अझै पनि दाइजो प्रथा गम्भीर कुरीतिका रूपमा कायम रहेको बताउदै उहाँले यस्तो अभ्यासलाई सामाजिक र कानूनी रूपमा दण्डनीय अपराधका रूपमा व्याख्या गर्नुभएकाे छ । हालैका दिनमा आफूले प्राप्त गरेका विवाहका निमन्त्रणापत्रहरूमा ‘दहेजमुक्त विवाह’ भन्ने उल्लेख नभएको पाइएपछि उपसभामुख ठाकुरले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्नुभएकाे हाे ।
उहाँले समाज परिवर्तनको सुरुवात आफैँबाट गर्नुपर्नेमा जोड दिँदै दाइजो लेनदेन भएको विवाहमा आफू उपस्थित हुन असमर्थ रहने प्रस्ट पार्नुभएकाे छ । उहाँले अब उप्रान्त विवाहको निमन्त्रणापत्र पठाउँदा त्यसमा दाइजो निषेधको स्पष्ट सन्देश राख्न समेत आग्रह गर्नुभयाे। व्यक्तिगत स्तरबाट उठाइएको सानो कदमले पनि ठूलो सामाजिक रूपान्तरण सम्भव हुने भन्दै उपसभामुख ठाकुरले समानतामा आधारित सुसंस्कृत विवाहको अभ्यासलाई प्रोत्साहन गर्न सबैलाई आग्रह गर्नुभएकाे छ।











प्रतिक्रिया दिनुहोस्