Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


बालेन्द्र शाहकाे मेयरदेखि प्रधानमन्त्रीसम्मकाे यात्रा

३६ वर्षीय प्रधानमन्त्री शाहको काँधमा देश हाक्ने जिम्मेवारी ....

195
Shares

काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पद तथा गाेपनीयताकाे शपथग्रहण गरे लगत्तै पदभार ग्रहण गर्नुभएकाे छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार विशेष समाराेहकाबीच शाहलाई शपथ गराउनुभएकाे हाे ।राष्ट्रपति पौडेलले शाहलाई शुक्रबार बिहान प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको थियाे । गत फागुन २१ गते भएको प्रतिनीधिसभा सदस्य निर्वाचनमा झापा–५ बाट भारी मतले विजयी हुनुभएकाे थियाे । जेनजी विद्रोहले मुलुकको राजनीतिक समीकरण रिसेट गरेपछि ३६ वर्षीय ठिटो शाहको काँधमा देश हाक्ने जिम्मेवारी आएको हो ।

२०४७ ;साल वैशाख १४ गते काठमाडौंको नरदेवीमा जन्मनुभएका बालेन शाह आयुर्वेदिक चिकित्सक डा. रामनारायण शाह र धुव्रादेवी शाहका सुपुत्र हुनुहुन्छ । नरदेवीकै जल्जला स्कुलबाट प्रारम्भिक शिक्षा हासिल गर्नुभएका शाहले उच्च माध्यमिक तहको शिक्षा भिएस निकेतनबाट पुरा गर्नुभएको थियो । उहाँले काठमाडौंमै रहेको हिमालयन ह्वाइट हाउस कलेजबाट सिभिल इन्जिनियरिङको अध्ययन गर्नुभएको छ ।

त्यसैगरि भारतको कर्नाटकबाट स्ट्रकचरल इन्जिनिरिरिङको अध्ययन पूरा गर्नुभएको छ । २०७२ सालको भूकम्पपछि देशका विभिन्न स्थानमा पुगेर पुनःनिर्माणको काममा संलग्न रहेको अनुभव उहाँसँग छ । भूकम्प र कोभिड महामारीकाे समयमा विभिन्न तरिकाले सामाजिक र पेशागत कार्यमा सक्रिय रहनुभएका शाह २०७९ सालमा सम्पन्न स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौंको मेयरमा विजयी भएपछि एका-एक चर्चाको शिखरमा पुग्नुभयो ।

मेयरको रुपमा काठमाडौंमा उहाँले गर्नुभएको काम र सुधारको थालनीले बालेनलाई बैकल्पिक राजनीतिको शक्तिकेन्द्र बनायो । लामो समयदेखि र्‍याप संगीतमार्फत युवाहरुको मन जित्नुभएका बालेनका देश विदेशमा थुप्रै प्रशंसक रहेका छन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि भने बालेन के युवा, के वयश्क, अनि के जेष्ठ नागरिक र सबैको आशाको केन्द्र बनेर उदाउनुभयो । निर्वाचनमा रास्वपाले पाएको अपार सफलतामा बालेनकै क्रेज र व्यक्तित्वलाई निर्णायक मानिएको छ । चुनावअघि नैं बालेनलाई भावी प्रधमनमन्त्री घोषणा गरेको रास्वपाले संसदीय दलको नेता चयनमा सर्वसम्मत गराएर बलियो सरकार गठनको बाटो खुलाएको हो ।

संसदीय राजनीतिमा प्रवेश गर्ना साथ २०४७ सालयता सरकारको नेतृत्व गरेका दल, तीनका शीर्ष नेता र २०६२/६३ पछि उदाएका तत्कालिन माओवादी र मधेशकेन्द्रित दलहरुलाई एक लटमै बढार्न सफल बालेनका अगाडि देशमा विद्यमान चरम भ्रष्टाचार, वेरोजगारी, सामाजिक असुरक्षा, आर्थिक असन्तुलन, कर्मचारी प्रशासनको बिचौलियातन्त्र, बौद्धिक पलायन, सार्वजनिक प्रशासन र सेवामा ढिलासुस्ती जस्ता बग्रेल्ती समस्याको तत्काल समाधान थाल्नुपर्ने चुनौती रहेका छन् ।