Logo १३ जेष्ठ २०८३, बुधबार | Thu May 28 2026


निवर्तमान प्रधानमन्त्री कार्की आफ्नै निवास धापासी फिर्ता


1.4k
Shares

काठमाडाैं । निवर्तमान प्रधानमन्त्री सुशीला कार्की बालुवाटारबाट शुक्रबार धापासीमा रहेकाे आफ्नो निवासमा फर्कनुभएको छ।

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्रीका रूपमा पद तथा गाेपनीयताकाे शपथ ग्रहण गर्नुभएलगत्तै कार्की बालुवाटारबाट धापासीमा रहेकाे निवासमा फर्कनुभएको हो । निवर्तमान प्रधानमन्त्री कार्कीले शुक्रबार सामाजिक सञ्जालमार्फत सार्वजनिक जिम्मेवारीको एक महत्त्वपूर्ण अध्याय औपचारिक रूपमा समाप्त भएको बताउनुभएकाे छ। कठिन र चुनौतीपूर्ण परिस्थितिमा राष्ट्रको नेतृत्व गर्नुपरेको समेत बताउनुभएकाे हाे ।

हामी सबैको सहकार्य, समन्वय र संयमले तोकिएकै समयमा चुनाव सम्पन्न गर्न सफल भएकाे उहाँकाे भनाइ थियाे । लोकतन्त्रप्रति नागरिकको अटुट विश्वास र सहभागिताले देशलाई सही दिशातर्फ अघि बढाएको उहाँकाे दावी छ। निवर्तमान प्रधानमन्त्री कार्कीले जननिर्वाचित नयाँ नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न पाउँदा खुशी र निश्चिन्त भएको उल्लेख गर्नुभयाे । नयाँ पुस्ताको ऊर्जावान् नेतृत्वले देशलाई अझ समृद्ध तथा स्थिर भविष्यतर्फ डोर्‍याउने विश्वास लिनुभएको छ ।

गत भदौ २३ र २४ गतेको नवयुवा आन्दोलनपछि भदौ २७ गतेदेखि कार्कीले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । राष्ट्रपति रामचन्द्र पौडलले ६ महिनाभित्र चुनावकाे जिम्मेवारीसहित नयाँ सरकार गठन गर्नुभएको थियाे ।