Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये दुई दलकाे प्रमुख सचेतक सुविधाबाट वञ्चित


2.2k
Shares

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट ६ वटा दलले राष्ट्रिय मान्यता प्राप्त गरेका छन्।

प्रत्यक्षतर्फ कम्तीमा १ सिट र समानुपातिकतर्फ सदर मतको ३ प्रतिशत प्राप्त गर्ने मापदण्ड पूरा गरेपछि ती दलहरूले राष्ट्रिय दलको मान्यता पाएका हुन्।

मापदण्ड पूरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय मान्यता प्राप्त गर्न सफल भएका हुन्।

राष्ट्रिय मान्यता प्राप्त दलहरूले सरकारबाट विभिन्न सेवा तथा सुविधा पाउने व्यवस्था सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७३ मा गरिएको छ। तर सोही ऐनका कारण श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी भने प्रमुख सचेतकको सुविधाबाट वञ्चित हुने भएका छन्।

ऐनको दफा २ को उपदफा ९ मा ‘प्रतिनिधिसभामा १० जना भन्दा बढी सदस्य रहेको दलले मात्र प्रमुख सचेतक तोक्न सक्ने’ व्यवस्था गरिएको छ। तर श्रम संस्कृति पार्टीका ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ मात्र सदस्य रहेकाले उनीहरूले उक्त सुविधा पाउने मापदण्ड पूरा गर्न सकेका छैनन्।