Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


समानुपातिकतर्फ राजनीतिक दलले पेश गरेकाे उम्मेदवारको नाम आयाेगले रूजु गर्दै

त्रुटी नभए आजै उम्मेदवारको सूची सार्वजनिक गर्ने आयाेगकाे तयारी

0
Shares

काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीतर्फ राजनीतिक दलहरुले पेश गरेका १ सय १० जना उम्मेदवारको नाममा रुजु प्रक्रिया अघि बढाएको छ ।

निर्वाचनमा तीन प्रतिशत ‘थ्रेसहोल्ड’ कटाएका ६ वटै राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ सांसद हुनेहरुको नाम साेमबार आयाेगमा बुझाएका थिए । ती नामहरु क्लस्टर अर्थात् समावेशी समूहअनुसार मिले/नमिलेको रुजु प्रक्रिया अघि बढाइएको आयोगले जनाएको हो । दलहरूले बुझाएको सूचीमा त्रुटि नभए साेमबार नै निर्वाचितको सूची सार्वजनिक गर्ने आयोगको तयारी छ । तर सूचीमा केही त्रुटि भेटिएमा फेरि मिलाएर पठाउन सम्बन्धित दललाई समय दिनुपर्छ । आयोगले सूची प्रकाशन गरेपछि निर्वाचित भएको प्रमाणपत्र वितरण गरिने भएकाे छ ।

समानुपातिकतर्फ निर्वाचित सांसदको टुङ्गो लागिसकेपछि आयोगले प्रतिवेदन तयार गरेर राष्ट्रपति रामचन्द्र पाैडेलसमक्ष बुझाउनेछ । त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु हुने आयाेगले जनाएकाे हाे ।