Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


प्रधानमन्त्री कार्कीले प्रमुख स्वकीयलाई प्रकृति संरक्षण कोषको अध्यक्ष बनाएपछि आलोचनाकाे चाङ

प्रधानमन्त्री कार्कीको प्रतिष्ठा धुलोमा मिसिएको पूर्वशिक्षामन्त्री पुनकाे टिप्पणी

1.2k
Shares

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नै प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष मनोनित गरेको विषयमा व्यापक आलोचना भएको छ।

प्रतिनिधिसभा निर्वाचन सम्पन्न भई नयाँ सरकार बन्न लाग्दा अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले आइतबार आफ्ना स्वकीय सचिव श्रेष्ठलाई कोषको अध्यक्ष मनोनित गर्नुभएकाे हाे । पूर्वमन्त्री ऐनबहादुर शाहीले कोषको अध्यक्षबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो। प्रधानमन्त्री कार्कीको उक्त निर्णयमा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ, महावीर पुन, जेनजी अभियानीहरू रक्षा बम र तनुजा पाण्डे लगायतले आलोचना गरेका छन्।

पूर्व शिक्षामन्त्री सुमनाले सामाजिक सञ्जाल प्ल्याटफर्म एक्समा पोस्ट लेखेर प्रधानमन्त्री कार्कीको निर्णयको आलोचना गर्नुभएकाे हाे । अरूले गर्दा नातावाद र कृपावाद भनिने त्यही कामलाई आफूले गर्दा योगदानको कदर नहुने उहाँको तर्क छ। अरूले गर्दा भागबन्डा हुने त्यही काम आफूले गर्दा जिम्मेवारी बाँडफाट र अरूले गरे सेटिङु भनिने त्यही काम आफूले गर्दा पारस्परिक सम्बन्ध नहुने उहाँले बताउनुभएकाे छ। उहाँले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नगरिएको विषयमा पनि प्रधानमन्त्री कार्कीलाई प्रश्न समेत गर्नुभयाे ।

पूर्व शिक्षामन्त्री पुनले यसले प्रधानमन्त्री कार्कीको प्रतिष्ठा धुलोमा मिसिएको टिप्पणी गर्नुभएकाे छ। त्यसो हुन नदिन उहाँले श्रेष्ठलाई नै सोही पद नलिन आग्रह गर्नुभयाे ।