Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


महुवनमा दलितमाथि कुटपिट प्रकरण : दलित आयोगको टोलीद्वारा पीडित परिवारसँग भेटवार्ता


143
Shares

वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं। ५ महुवनमा दलित समुदायमाथि भएको कुटपिट घटनाप्रति राष्ट्रिय दलित आयोगले चासो दिएको छ।

आयोगका सदस्य सुन्दर पुर्कुटीको नेतृत्वमा आएको टोली घटनास्थल पुगेर पीडित परिवारसँग भेटवार्ता गर्दै घटनाको बारेमा जानकारी लिएको छ ।

फागुन २४ गते साँझ महुवन बजार क्षेत्रमा केही गैरदलित समुदायका व्यक्तिले दलित समुदायमाथि कुटपिट गरेको घटनाको सत्यतथ्य बुझ्न आयोगको टोली त्यहाँ पुगेको हो।

घटनामा स्थानीय मालती देवी राम र उनका ७ वर्षीय भतिज बब्लु कुमार राम घाइते भएका छन्। बब्लुको बायाँ हात भाँचिएको छ भने मालती देवीको टाउकोमा चोट लागेर तीन वटा टाँका लगाइएको छ।

घटनाको वास्तविकता पत्ता लगाई पीडितलाई न्याय दिलाउन पहल गरिने आयोगले जनाएको छ। टोलीले यसै सन्दर्भमा सखुवाप्रसौनी गाउँपालिका वडा नं। ५ का वडाअध्यक्ष यशेश्वर प्रसाद यादवसँग पनि छलफल गरेको थियो।

यस अवसरमा आयोगका सदस्य पुर्कुटीले जातीय आधारमा कुटपिट गर्नु कानुनी अपराध भएको स्पष्ट पार्दै दलित समुदायमाथि हुने यस्ता घटनालाई कुनै पनि हालतमा सह्य गर्न नसकिने बताएका छन्।

टोलीको भेटघाटका क्रममा मधेश प्रदेशका पूर्व प्रदेशसभा सदस्य सुन्दर विश्वकर्मा, दलित अगुवा मानदेव हजरा, सुरेन्द्र पासवानलगायतको उपस्थिति रहेको थियो।