Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


गुल्मीको सिस्ने भीर सडक खण्ड आजदेखि बन्द


208
Shares

काठमाडाैं । गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक अन्तर्गत सिस्ने भीर खण्ड आइतबारदेखि एक महिनाका लागि पूर्णरूपमा बन्द भएको छ ।

सत्यवती गाउँपालिकाको सिस्ने भीरमा सडक स्तरोन्नति गर्ने काम थालिएको र आइतबारदेखि चैत महिनाभरी सडक बन्द गर्ने यसअघि नै निर्णय भइसकेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको हाे। सडक डिभिजन कार्यालय पाल्पाले अति संवेदनशील र साँघुरो ठाउँ सिस्ने भीरमा सडक काँटछाँट गर्ने क्रममा ढुङ्गा खस्ने जोखिम बढेकोले सम्भावित दुर्घटनालाई ध्यानमा राखेर सडक बन्द गरिएकाे जानकारी गराएकाे छ।

प्रशासनले अबको एक महिना वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको हाे। वैकल्पिक सडकका रूपमा सोता–तल्लोरोड–रूपाकोट–दोकुवा–सालघारी–चोरकाटे तथा मजुवा–दम्का–रूपाकोट–म्यालपोखरी–चोरकाटे सडक प्रयोग गर्न सकिने भएकाे छ। यसअघि सडक डिभिजन कार्यालय पाल्पाले गएको गत माघ २६ देखि फागुन १५ गतेसम्म आंशिक रूपमा सडक बन्द गरी स्तरोन्नतिको काम गरेको थियो ।