एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि हालतमा ‘स्ट्रेट अफ हर्मुज’ खोल्ने बताउनुभएको छ ।
राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसियल’ मार्फत यस्ताे बताउनुभएकाे हाे । उहाँले ‘हर्मुज’ लाई खुला र सुरक्षित राख्नका लागि चीन, जापान, दक्षिण कोरिया र बेलायतलाई पनि आफ्ना युद्धपोत पठाउन अपील गर्नुभयाे । ‘हर्मुजबाट’ तेल प्राप्त गर्ने देशहरूले यसको ख्याल राख्नुपर्ने उहाँको भनाइ छ ।
अमेरिकाले इरानको सैन्य शक्तिलाई नष्ट गरिसकेको उहाँले दावी गर्नुभयाे । ‘स्ट्रेट अफ हर्मुज’ ले विश्वव्यापी समुद्री तेल व्यापारको करिब २० प्रतिशत हिस्सा ओगटेको छ । यद्यपि यो मार्ग भएर आउजाउ गर्र्ने जहाजहरूमा आक्रमण भइरहँदा विश्वव्यापी रूपमा चिन्ता बढेको हाे ।
युद्ध शुरू भएदेखि नै यस क्षेत्रमा जहाजहरूमाथि आक्रमण भइरहेका छन् । यसअघि बिहीबार इरानका सर्वाेच्च नेताले सत्ता सम्हालेपछिको पहिलो वक्तव्यमा ‘स्ट्रेट अफ हर्मुज’ लाई निरन्तर अवरुद्ध राख्ने बताउनुभएको थियो । यसैबीच युद्ध शुरू भएको १५ दिन पुग्दा मध्यपूर्वभरि आक्रमण भइरहेकाे छ । इजरायल, इरान र क्षेत्रीय समूहबीच मिसाइल, ड्रोन र रकेट आक्रमण तीव्र हुँदा मानवीय तथा आर्थिक संकट गहिरिँदै गएको छ ।
त्यस्तै, अमेरिकी सेनाले इरानको रणनीतिक खार्ग टापुमा आक्रमण गरेपछि विश्व ऊर्जा बजारमा ठूलो असर पर्ने अनुमान गरिएको छ । कच्चा तेलको मूल्य फेरि प्रतिब्यारेल १ सय अमेरिकी डलर भन्दा माथि पुगेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दक्षिणी लेबनानका पीडितका लागि करिब ३० करोड डलर बराबरको आपत्कालीन सहायता कार्यक्रम घोषणा गर्दै युद्धरत पक्षसँग तत्काल युद्धविराम गर्न आग्रह गर्नुभयाे ।








प्रतिक्रिया दिनुहोस्