Logo १९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026


सिमानाकामा संयुक्त सुरक्षा फौज परिचालन


520
Shares

सुनसरी ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउन कोशी प्रदेशका नेपाल–भारत तथा नेपाल–चीनसँग जोडिएका सबै अन्तर्राष्ट्रिय सिमानाकामा संयुक्त सुरक्षा फौज परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ। मंगलबार बिहान १ बजेदेखि प्रदेशका सबै सिमानाकामा आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपालको सुनसरीस्थित बराहा बाहिनी पकलीका डीआईजी मनीष थापाका अनुसार फागुन २१ गते राति १२ बजेसम्मका लागि सबै नाका सिल गरिएको छ। उहाँले निर्वाचनको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै भारत र चीनसँग सीमा जोडिएका जिल्लाका सबै अन्तर्राष्ट्रिय नाकामा कडाइ गरिएको जानकारी दिनुभयो।

भारतसँग सीमा जोडिएका सुनसरी, मोरङ, झापा र इलाम तथा चीनसँग सीमा जोडिएका ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुका प्रमुख नाकाहरू पूर्ण रूपमा बन्द गरिएका छन्। यस अवधिमा नेपाल–भारत तथा नेपाल–चीनबीचको नियमित आवतजावत रोकिएको छ।

निर्वाचन अवधिभर सीमा क्षेत्रमा कुनै पनि प्रकारको अवाञ्छित गतिविधि हुन नदिन भारतीय सीमा सुरक्षा बल (एसएसबी) तथा चिनियाँ सुरक्षा निकायसँग समन्वय गरी संयुक्त रूपमा सुरक्षा फौज परिचालन गरिएको डीआईजी थापाले बताए। सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउँदै संयुक्त गस्ती, निगरानी र चेकजाँचलाई तीव्र बनाइएको छ।