Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


विद्यालय केन्द्रित एचपीभी खोपबाट लाभ लिनुहोस् : सुनिता डंगोल


130
Shares

काठमाडाैं ।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालय केन्द्रित एचपीभी खोप व्यवस्थित रुपमा अघि बढाउन मातहतका सबै पक्षलाई निर्देशन दिनुभएको छ ।

मंगलवार काठमाडौंको डिल्लीबजारस्थित पद्यकन्या माविमा सो खोपको उद्घाटन गर्दै उहाँले महानगरपालिका अन्तर्गतको स्वास्थ्य विभाग र सम्बन्धित सबै पक्षलाई सो अभियानलाई सफलतापूर्वक सम्पन्न गर्न सचेत गराउनुभएको हो । सरकारले पाठेघरको मुखको क्यान्सर प्रतिरोधी सो खोप निःशुल्क रुपमा उपलब्ध गराएको छ ।

सो खोप लिन र त्यसलाईं व्यवस्थित रुपमा सम्पन्न गर्न कार्यवाहक प्रमुख डंगोलको आग्रह थियो । उहाँले सो खोप अभियान काठमाडौ महानगरपालिका भित्रका सबै विद्यालयहरुमा संचालन भईरहेकाले त्यसबाट लाभ लिन पनि किशोरीहरुलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अघिल्लो वर्षबाट हामीले यो सुरु गरेका थियौ । या भनौ–पहिलो चाहीँ यो भ्याक्सिन लिनका लागि पैसा तिरेर यो भ्याक्सिन लिइरहनु भएको थियो भने अहिले नि: शुल्क यो भ्याक्सिनेशन प्रोग्राम स्कुलस्कुलमा भइरहेको छ । यो प्रोग्रामबाट धेरै भन्दा धेरै बहिनीहरुले यसबाट लाभ लिनुहोस भन्ने पनि चाहन्छौँ । र यो कार्यक्रम महानगरभरीको सबै स्कुलहरुमा लागू भईरहेको छ । त्यहाँ पनि सफलतापूर्वक सम्पन्न होस भन्ने कामना गर्दछु । र, यो प्रोग्रामलाई व्यवस्थित रुपमा अघि बढाई दिन पनि अनुरोध गर्दछु ।’

सरकारले पाठेघरको मुखको क्यान्सरबाट धेरैको ज्यान जान थालेपछि त्यसको प्रतिरोधको लागि यो भ्याक्सिन निःशुल्क रुपमा उपलब्ध गराउने कामलाई अभियानकै रुपमा सञ्चालन गरेको हो । सो अभियानबाट लाभ लिन पनि काठमाडौं महानगरपालिकाले सम्बन्धित सबैमा अनुरोध गरेको छ ।