Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


एआईको दुरुपयोग गरी ‘सूर्य’ चुनाव चिन्ह परिवर्तन भएको झुटो प्रचार गरियो : एमाले


221
Shares

काठमाडाैं । नेकपा (एमाले)ले पार्टीको चुनाव चिन्ह परिवर्तन भएको भन्दै एआई प्रविधिबाट भ्रामक सामग्री तयार गरी प्रशारण गरिएकोप्रति आपत्ति जनाउँदै त्यस्ता कार्यमा संलग्नलाई तत्काल कानूनी कारबाही गर्न माग गरेको छ । 

पार्टीले बुधवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो माग गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले निर्वाचन लक्षित गतिविधिमा प्रविधिको गैरजिम्मेवार प्रयोग र भ्रामक प्रचारप्रति आपत्ति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।

उहाँले देशभर सञ्चालन भइरहेका निर्वाचनसम्बन्धी गतिविधि, प्रचार–प्रसारका शैलीमा प्रविधिको गैरराजनीतिक र गैरजिम्मेवार ढंगले प्रयोग भइरहेको भन्दै पार्र्टी त्यसको विरोधमा रहेको स्पष्ट पार्नुभयो । उहाँले निर्वाचन आचारसंहिता, लोकतान्त्रिक मूल्य–मान्यता र मर्यादाको पूर्ण पालना हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले विभिन्न राजनीतिक दल, उम्मेदवार तथा पार्टीका निर्वाचन चिन्हबारे भ्रम फैलाउने उद्देश्यले कलाकारको प्रयोग र प्रविधिको दुरुपयोग गर्दै पार्टी नेतृत्व र नीतिमाथि आक्रमण गर्ने प्रयास भइरहेको आरोप पनि लगाउनु भयो । त्यसैगरी, पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरी सामाजिक सञ्जालमा गालीगलौज, अमर्यादित र असभ्य शब्द प्रयोग गरिएको सामग्रीप्रति आपत्ति जनाउँदै उहाँले  त्यसको भत्र्सना र निन्दा गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘निर्वाचन प्रक्रियाअन्तर्गत देशभर सञ्चालन भइरहेका गतिविधिहरु, प्रचारप्रसारका शैली र अभिव्यक्तिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । लोकतान्त्रिक मूल्य मान्यता, मर्यादा र निर्वाचन आचारसंहिता पालनको पुर्ण सुनिश्चितता गर्न पार्टी स्पष्ट रहेको प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ । प्रविधिको प्रयोग गैरजिम्मेवार र गैरराजनीतिक ढंगले भइरहेकोले नेकपा (एमाले) उक्त कार्यको विरोध गर्दछ । विभिन्न राजनीतिक दलहरु, तिनका उम्मेदवारहरु तथा पार्टीका निर्वाचन चिन्हको बारेमा भ्रम फैल्याउने उद्देश्यले कलाकारहरुको प्रयोग तथा प्रविधिको दुरुपयोग गर्दै पार्टी नेतृत्व र नीतिमाथि आक्रमणको प्रयासप्रति नेकपा (एमामले)को गम्भीर ध्यानाकर्षण भएको छ । पार्टीको चुनाव चिन्ह परिवर्तन लगायतका भ्रामक समाचार सामग्रि तयार पारी प्रशारण गरी कलाकार लगायत जोसुकैलाई पनि कानूनी दायरामा ल्याउन हामी जोडदार माग गर्दछौँ । नेकपा (एमाले)को चुनाव चिन्ह सूर्य परिवर्तन भएको छ भन्नेसम्मका एआईद्वारा सिर्जना गरिएका सामग्रिप्रति हामी घोर आपत्ति जनाउन चाहान्छौँ । पार्टी अध्यक्ष एवं पूर्व  प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरि गालिगलौज, अमर्यादित र असभ्य शब्दहरुको प्रयोग, व्यक्तिगत मर्यादा र स्वतन्त्रताको समेत उल्लङ्घन हुनेगरी सामाजिक सञ्जालमा प्रयोग गरिएका सामग्रीप्रति आपत्ति प्रकट गर्दै कडा शब्दमा भत्र्सना एवं निन्दा गर्दछ ।’
उहाँले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारको गम्भीर ध्यानाकर्षण समेत गराउनु भयो ।