Logo १४ माघ २०८२, बुधबार | Wed Jan 28 2026


मधेशसहित ७ वटै प्रदेशमा आज दिउँसोदेखि वर्षा र हिमपात हुँदै


2.2k
Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको हो । साथै बाँकी भू-भागमा भने आंशिक बादल लागेको छ।

त्यस्तै, बुधबार दिउँसो भने देशको उच्च पहाडी तथा हिमाली भू‍-भागमा पूर्णतया बादल लाग्ने भएको हो । बाँकी पहाडी र तराईका भू-भागमा भने साधारणतया बादल लाग्ने भएको छ । देशको उच्च पहाडी तथा हिमाली भू‍-भागका केही स्थानहरूमा मध्यम हिमपात-वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भू-भागका केही स्थानहरूमा मध्यम वर्षा हुने भएको हो । बागमती, मधेश र कोशी प्रदेशको तराईको केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको हो ।

त्यस्तै, बुधबार राति भने देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने भएको छ । बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने भएको हो। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍-भागका केही स्थानमा हल्का हिमपात-वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।