Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


पश्चिम एशियामा जारी द्वन्द्वले डर बढाएपछि भारतमा पनि ग्यास किन्ने मानिसको भीड

ग्यासकाे कालोबजारी नहोस् भनेर सुनिश्चित गर्ने प्रयास गरिरहेकाे प्रधानमन्त्री मोदीकाे दावी

338
Shares

एजेन्सी । पश्चिम एशियामा जारी द्वन्द्वकोबीच भारतकाे राजधानी नयाँ दिल्ली लगायतका विभिन्न शहर र नगरहरूमा निजी लिक्विफाइड पेट्रोलियम ग्यास (एलपीजी) वितरण एजेन्सीहरू अगाडि मानिसहरूको लामो लाइन देखिएको छ ।

घरायसी एलपीजी सिलिण्डर भर्नका लागि अनलाइन बुकिङ गर्न मानिसहरूले कठिनाइ भोगिरहेको रिपोर्टहरू आएका हुन् । केही शहरहरूमा घरायसी एलपीजी सिलिण्डरहरू प्रतिसिलिन्डर ९ सय १३ भारतीय रुपैयाँ (करिब ९ दशमलव ८७ अमेरिकी डलर) को अधिकतम खुद्रा मूल्य भन्दा बढी उच्च मूल्यमा विक्री भइरहेको थियो । अधिकांश रेस्टुरेण्ट तथा होटलहरू विशेष गरी आर्थिक राजधानी मुम्बईमा, व्यावसायिक एलपीजी सिलिण्डरहरू पाउन निरन्तर कठिनाइको सामना गरिरहेका छन् ।

खाना पकाउने ग्यासको अभावलाई लिएर देशमा व्याप्त अनिश्चितताकोबीचमा प्रधानमन्त्री नरेन्द्र मोदीले हस्तक्षेप गर्दै एलपीजी सिलिण्डरको कालोबजारी वा जम्माखोरी नहोस् भनेर सुनिश्चित गर्न हरेक प्रयास भइरहेको बताउनुभयाे। यसैबीच, आधिकारिक स्रोतले सम्भावित एलपीजी अभावलाई पूरा गर्ने प्रयासमा गत हप्ताको तुलनामा देशमा घरेलु उत्पादन ३० प्रतिशतले बढेको जनाएकाे छ।