Logo १३ माघ २०८२, मंगलबार | Tue Jan 27 2026


सुदूरपश्चिमसहित ४ प्रदेशमा आज दिउँसोदेखि मेघगर्जन-चट्यांगसहितको वर्षा र हिमपात हुँदै

सतर्क रहन महाशाखाको अनुरोध

1.5k
Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार बिहान कोशी र मधेश प्रदेशको तराई भू-भागका केही स्थानहरूमा तुवाँलो लागेको हो। देशको हिमाली भू-भागमा आंशिक बादल लागेको छ । बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको हो ।

त्यस्तै, मंगलबार दिउँसो भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएको छ । साथै बाँकी भू-भागमा भने आंशिक बादल लाग्ने भएको हो । कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍-भागको केही स्थानमा हल्का हिमपात-वर्षाको सम्भावना रहेको छ । साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशको बाँकी भू‍-भागको केही स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको हो ।

त्यस्तै, मंगलबार राति भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएको छ । बाँकी भू-भागमा भने बादल लाग्ने भएको हो । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍-भागका केही स्थानहरूमा मध्यम हिमपात-वर्षा हुने भएको छ । साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागका केही स्थानमा हल्का हिमपात-वर्षाको सम्भावना रहेको छ ।

कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मध्यम वर्षा हुने भएको हो । तराई भू-भागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्गको समेत सम्भावना रहेको महाशाखाले जनाएको हो ।