Logo १० माघ २०८२, शनिबार | Sat Jan 24 2026


सुदूर पहाडमा भारी हिमपात, किसान खुसी


208
Shares

बिनाेद बिष्ट, बैतडी ।
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा हिजो बेलुकादेखि हिमपातसहित हिउँदे वर्षा भइरहेको छ ।

बैतडीको उच्च लेकाली भेग खोड्पे, श्रीभावर, ढोल्यामोड, मुस्याचोर, सतबाँझ, देहिमाडौं, लगायतका क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।

वर्षासंगै हिमपात भइरहेकोले राजमार्ग अवरुद्ध हुनसक्ने सम्भावना बढेको छ । तर अहिलेसम्म राजमार्ग भने सुचारु रहेका प्रहरी निरीक्षक सिंहले बताउनुभयो ।

दार्चुलाको व्यास र अपिहिमाल,डोटीको झिग्राना,बझांगको वित्थड क्षेत्रमा हिमपात भएको छ । डडेल्धुरा सदरमुकामका साथै हगुल्टे,साहुखर्क, भातकाँडा क्षेत्रमा हिमपात भएको प्रहरीले जनाएको छ । यो वर्ष पहिलोपटक हिउँदे वर्षा र हिमपात भएपछि यहाँका किसान खुसी भएका छन् ।

गएको चार महिनादेखि वर्षा नहुँदा यहाँ गहुँबाली लगायतका हिउँदे बाली सुक्दै गएका थिए । हिमपात र वर्षा भएपछि किसानहरु बाली सप्रिने भन्दै खुसी भएका छन् हिमपातका कारण अत्यधिक चिसो बढेको छ । चिसोबाट बच्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

उता कर्णाली प्रदेशको हुम्ला , जुम्लामा पनि भारी हिमपात भएको छ । गत भदौदेखि वर्षात् नभएको हुम्लामा वर्षाभएसँगै यस वर्षकै पहिलो पटक हिउँ पर्न थालेको हो । निकै लामो समय हिउँ नपर्दा चिन्तित भएका किसान हिउँ पर्न थाले पछि खुसी भएका छन् । हुम्लाको तल्लो क्षेत्रमा भने वर्षा भइरहेको छ ।

जिल्लाको तल्लो क्षेत्रमा धैरै पानी वरपरे पश्चात् हिमपात हुने गर्दछ भने माथिल्लो हुम्ला सिमकोट नाम्खालगायतका क्षेत्रमा अहिले हिमपात भइरहेको छ ।