परासी, असोज ९ । गढेको धन निकाल्न भन्दै रातको समयमा खोला किनारमा धामीझाँक्रीसहित पूजा गरिरहेका प्रतापपुर ३, अमहवाका ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शनिबार राति पीपलको रुखमा पूजाअर्चना गर्दै खाडल खनिरहेको अवस्थामा इलाका प्रहरी सेमरीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा गोल्डेन लाइफ इङ्लिस स्कुलका प्रिन्सिपल हरेन्द्र बडै शर्मा, प्रतापपुर ३ का ठगइप्रसाद मुसहर, बलिराम मुसहर, सुनवल १२ भुमहीका तिलक भट्टराई र भानु मुसहर रहेको पश्चिम नवलपरासीका प्रहरी प्रमुख राजेन्द्र भट्टले बताए ।
मध्यरातमा प्रहरीले बलिरहेको बत्ती, माटोको भाँडामा पकाइएको खिर, सानो खराउ र खाडल खन्न प्रयोग गरिएको फरुवा बरामद गरेको छ ।
प्रिन्सिपल हरेन्द्रलाई यसअघि पनि आफ्नै विद्यालय प्रांगणमा खाडल खनेर पूजा गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो । गाउँलेले मानव बलि दिन खोजेको आरोप लगाए पनि प्रमाण नपुगेपछि उनलाई छाडिएको थियो । –कान्तिपुर दैनिकबाट




प्रतिक्रिया दिनुहोस्