Logo ३ माघ २०८२, शनिबार | Sat Jan 17 2026


काे हुन् सुमन सायमी ?


13
Shares

सुमन सायमीकाे पाेलिटिकल लिगेसी:

कालीमाटी निवासी जीवन मानन्धरका छाेरा हुन् सुमन सायमी । जीवन मानन्धरलाई जीवन दाइचाकाे नामले काठमाडौंका अधिकांशले चिन्थे ।

अहिले पनि जीवन दाइचाकाे मिठाइ पसल (स्वीट् केव) चलेका पसलहरू मध्येका हुन् । साेही पसलमा बसेर थुप्रै राजनीतिक याेजना बुझे, सामाजिक सेवाकाे लागि कार्यक्रमहरू तयार भए । जीवन दाइचाकाे उदारपन, राजनीतिक नेताहरूलाई संरक्षण दिने, साथ, सहयाेग र परेकाे खण्डमा जे पनि गरिदिने बानीले अरूलाई झस्काउँथ्याे ।

कत्तिले नेताहरूकाे लागि यत्तिसम्म नगर्नु भनि बारम्बार सम्झाए पनि । तर एउटा कुराेमा लागे पछि रफ्तारमा लाग्ने बानी भएका जीवन दाइचा कसैकाे नसुनिकन लागिरहे । ०४६ सालकाे संगीन समयमा पनि खतरा माेलेर कालिमाटीस्थित व्यस्त बजारकाे घरमा अहिलेका शीर्ष नेताहरूलाई सेल्टर दिए । अर्धभूमिगत आन्दाेलनकालमा केन्द्रीय समितिकाे बैठक गराउनेमा सहयाेग गरे । कम्युनिस्ट पार्टीकाे लागि गर्नुगरे ।

विद्युत कर्पाेरेसनमा जागिरे भएका ईन्जिनियर भाइले केहि गरिदिनुस् न दाइ भन्दा, म केहि गर्न सक्दिन र कसैलाई भनसुन गर्न मन पराउँदिन भन्ने उत्तर फर्काए, उनै जीवन दाइचाले । आफ्नै बलबुताले गर्नुपर्छ भन्ने अर्ति दिए । पार्टीकाे लागि के मात्र गरेनन्, सुमनकाे बुवा जीवन दाइचाले ।

२०५४ सालमा पार्टी फुटेकाे घाेषणा हुँदा आँखाबाट बरर आँसु झारेका थिए । पार्टी फुटेकाे खबर दिएर जीवनलाई रूलाएकाेमा जीवन दाइचाका साथी जनज्योति श्रेष्ठले मनमा ग्लानी महसुस गरेकाे संस्मरण सामाजिक सञ्जालमा लेखेका छन् । उनकै जेठाे छाेराे सुमन सायमी अहिले बुवाकाे पदचाप पछ्याउँदै छन् । बुवासँगै राजनीतिमा हाेमिएकाहरू ठूल्ठूला लाभका पदमा पुगे, सेल्टर दिएर बचाउने व्यक्ति इमान, त्याग, धैर्य, समर्पन, उदारपनले त्यहाँसम्म नपुगेपनि काठमाडौंबासीकाे मन र मस्तिष्कमा अहिले पनि जिवितै छन् ।

सुमनले बालाजु सडक बिस्तारकाे विराेध गर्ने क्रममा सन् २००१ मा (पाँच वर्षअघि) गिरफ्तार हुँदा प्रहरीकाे खाेरमा मातृभाषा (नेपालभाषा) बाेले । आफुसँगै पक्राउ परेका साथीहरूबीच खाेरभित्र मातृभाषामा कुरा गरेकाे आराेप सुमन सायमीले थुप्रैपटक खेप्नु परेकाे थियाे ।

नेपालभाषा बाेलेकै आराेपमा अपराधी सरह हतकडी लगाएर खाेरमा जाकेकाे थियाे । कहिले गैरन्यायिक सडक बिस्तार संघर्ष समितिका संयाेजक भएर कहिले खाेला मापदण्ड पीडित र थुप्रै समय गुठी र भूमि पीडितको पक्षमा आन्दोलनकाे क्रममा प्रहरी हिरासतमा बसेका छन् ।

उहिले बुवाकाे सेल्टर पाएका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओली नेतृत्वकाे सरकारले नै बुवाकाे याेगदानलाई कदर गरि सुमनलाई कथित पटक पटक कारागारमा जाकेर उपहार दिएका थिए । उहिले ओली नेतृत्वको सरकारले सुमन तथा उनका साथीहरूलाई गरेकाे दुर्व्यवहार निन्दनीय थियाे/छ/रहनेछ । गैरन्यायिक सडक बिस्तारकाे विराेधमा लागेका न्यायिक अभियन्ता तथा नागरिक अगुवा सुमन सायमीले खाेला मापदण्ड पीडित, गुठी, सहकारी तथा लघुवित्त पीडितदेखि भूमि पीडितकाे पक्षमा सधैं वकालत गरिरहे । जीवन दाइचाले पार्टी र नेतालाई त्यत्राे सहयाेग गरे तर कहिलेपनि आफ्नाे ब्यक्तिगत हितकाे लागि पार्टीबाट कुनैपनि सहयाेग मागेनन् । न त भनसुननै गरे । ठ्याक्कै त्यस्तै स्वभाव सुमन साय्‌मिकाे छ ।
पछिल्लो समय स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत काठमाडौं महानगरपालिकाको मेयर पदको लागि बालेन शाहसँग प्रतिस्पर्धी भएर चुनावमा हाेमिएका थिए । जेठ ३०, २०७९ मा भएको चुनावमा स्वतन्त्र उम्मेदवार सुमन साय्‌मिले १३,७७० मत प्राप्त गरेका थिए । दाेस्राे पटक २७५ सिटकाे लागि सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा सुमन सायमीले काठमाडौं क्षेत्र नं. –८ बाट उम्मेदवारकाे रूपमा चुनाव लडेका थिए । त्याे बखत राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठसँग हारेका थिए । विराजभक्तले १०,११२ मत ल्याउँदा सुमनले ६,१७९ मतभार पाएर दाेस्राे भएका थिए । साेही निर्वाचनमा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ ४,८८१ मतभारसँग तेस्राे भएका थिए ।

सुमन सायमी किन राजनीतिमा आए?
सुरूकाे बखत फाेहाेरी राजनीतिले आजित भएर टाढा बसेका सुमन सायमी पछि बुवाकाे पाेलिटिकल लिगेसी बुझेपछि प्रभावित भएका थिए । हामीले नगरे कसले गर्छ? अहिले नगरे कहिले गर्ने? राजधानीबासीकाे राजनीतिक चेत कहिले आउँछ? जस्ताे प्रश्नकाे उत्तर खाेज्न सुमनले राष्ट्रिय राजनीति सुरू गरेका हुन् ।

पहिले नेता चुन्ने र पछि नागरिकको लागि काम गर्ने प्रवृत्तिलाई परिवर्तन गरेर नागरिकको आवाज बाेल्ने/बाेलिरहेका नेतालाई सत्तामा पुर्याउन राजनीतिमा आएकाे सुमनकाे दाबी छ । बहुल राष्ट्रियताको अस्तित्वलाई सर्वस्वीकार्य बनाएर स्वदेशवादकाे विचार, दर्शन र अस्तित्व स्थापित गराउँदै उच्च नैतिकता, स्वमूल्य, स्वमान्यता र स्वभूमिको रक्षाकाे लागि सुमनले राजनीति गरेका हुन् । सबैखाले दमनको अन्त्य गर्दै उत्पीडित राष्ट्रियताहरूको मुक्तिको उद्घोष र स्वदेशी सभ्यताको पुनरुत्थानको लागि सधैं वकालत गरिरहने सुमनकाे प्रतिवद्धता रहेकाे छ ।

केवल अभियान, विरोध र आन्दोलनले मात्र हरेक पीडित नागरिकको दीर्घकालीन समाधान नआउने ठम्याइ पश्चात् नीति निर्माण तहसम्म पहुँच बनाउन राजनीतिमा आएको सुमनकाे भनाइ रहेको छ । सरकारी संरचनामै पुगेर संस्कृति, सम्पदा, शहर र समग्रमा सभ्यताका मुद्दा नीति तहमा उतार्नुपर्ने भएर राष्ट्रिय राजनीतिमा संलग्न भएको सुमनकाे भनाइ रहेकाे छ । दसक भन्दा बढी समयदेखि नागरिककाे पीडामा मल्हम लगाउन उद्धत रहेका सुमन सायमी समग्रमा मुद्दाको राजनीतिमा विश्वास गर्छन् ।

(अभियन्ताबाट राष्ट्रिय राजनीति सुरू गरेका नेपाली कम्युनिष्ट पार्टीका नेता सुमन सायमीसँग अन्तरक्रिया गरेर केके मानन्धरले तयार गरेकाे लेख ।)