काठमाडौं ।
हवाई मार्ग हुँदै नेपाल प्रवेश गर्ने विदेशी नागरिकलाई लक्षित विशेष निगरानीका क्रममा अन्तर्राष्ट्रिय लागू औषध तस्करी गिरोहसँग सम्बन्धित तीन जना विदेशी नागरिक ठूलो परिमाणको कोकिन जस्तो देखिने सेतो पदार्थसहित पक्राउ परेका छन्।
प्रहरीका अनुसार दुई फरक–फरक अपरेसनमार्फत कुल ४ केजी ३०० ग्रामभन्दा बढी कोकिन बरामद गरिएको हो।
पहिलो घटनामा लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी ४० वर्षीया थाई नागरिक रुशानी कामालाई बुधबार काठमाडौँ महानगरपालिका–९, सिनामंगलस्थित एक होटलबाट नियन्त्रणमा लिइएको थियो। विशेष सूचनाका आधारमा गरिएको खानतलासीमा सुरुमा १२ वटा प्लास्टिकले कोट गरिएका क्याप्सुल बरामद भएको र थप अनुसन्धानका क्रममा उनले कोकिन मुखबाट निलेर पेटभित्र लुकाई ल्याएको खुलेको प्रहरीले जनाएको छ।
अस्पतालमा स्वास्थ्यकर्मीको सहयोगमा पेटभित्र लुकाइएका थप २९ वटा क्याप्सुल सुरक्षित रूपमा निकाल्दा जम्मा ४१ वटा क्याप्सुल फेला परेका थिए, जसको तौल ५५० ग्राम रहेको छ। दोस्रो अपरेसनमा लाओसबाट सिंगापुर हुँदै काठमाडौं आएका ५५ वर्षीय भारतीय नागरिक जेभियर मैथ्यु थालियाचेरीलाई सिनामंगल क्षेत्रबाट पक्राउ गरिएको हो।
उनीसँगै रहेको सुटकेस रिसिभ गर्न आएका २१ वर्षीय भारतीय नागरिक मुर्सालेन हुसेनलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। खानतलासीका क्रममा सुटकेसभित्र रहेको कफीको प्याकेटमा लुकाइ राखिएको अवस्थामा ३ केजी ७५० ग्राम कोकिन जस्तो देखिने सेतो पदार्थ बरामद गरिएको छ।
प्रहरीका अनुसार यी घटनाले नेपाललाई ट्रान्जिट बनाएर सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय लागू औषध तस्करी सञ्जाल सक्रिय रहेको संकेत गरेको छ। पक्राउ परेका सबै प्रतिवादीमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।
प्रहरीले हवाई मार्ग हुँदै हुने तस्करी रोक्न निगरानी थप कडा बनाइएको र अन्तर्राष्ट्रिय नेटवर्कको जरोसम्म पुग्ने गरी अनुसन्धान अघि बढाइएको जनाएको छ।





प्रतिक्रिया दिनुहोस्