Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


आगामी फागुन २१ गते निर्वाचन गर्नुको विकल्प छैनः सञ्चारमन्त्री खरेल


169
Shares

काठमाडाैं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन गर्नुको विकल्प नरहेको बताउनुभएको छ।

सरकारद्वारा गठित राजनीतिक वार्ता समितिको तर्फबाट मंगलबार नेपाली कांग्रेसको पार्टी कार्यालय निरीक्षण एवं वार्ताका लागि सानेपा पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो । उहाँले जेनजी जन-आन्दोलनबाट बनेको सरकारलाई निर्वाचन गराउने आदेश रहेको र प्राप्त जनादेश अनुसार फागुन २१ मा निर्वाचन अनिवार्य रहेको बताउनुभयो। उहाँले निर्वाचन समयमै सम्पन्न गर्न विभिन्न समयमा राजनीतिक दल र सर्वपक्षिय वार्ता गरिरहेको भन्दै राजनीतिक संवाद समितिले राजनीतिक दलहरुसँग छलफल अघि बढाउने बताउनुभएकाे छ। राजनीतिक वार्ता, सहजीकरण गर्न तीन सदस्य सरकारी वार्ता टोली गठन भएको र आफूहरु वार्ता सहजीकरणका लागि एवं आन्दोलनका क्रममा भएको क्षतिकाे बारेमा निरीक्षण गर्न आएको उहाँले बताउनुभयो।

त्यसैगरी कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले अहिलेको परिस्थितिमा कसरी निकास निकाल्ने भनेर राजनीतिक दलहरुले पनि सोच्ने बेला आएको बताउनुभयो। अहिलेको विषम परिस्थितिमा निर्वाचन बाहेक अन्य उपाय नरहेको र धेरै ढिलो गर्न पनि स्थायित्वको लागि उचित नहुने उहाँकाे भनाइ छ। उहाँले निर्वाचनका लागि राजनीतिक दलले सरकारको तर्फबाट खोजेको सहयोग गर्न तयार रहेको बताउनुभयो ।

सरकारद्वारा गठित राजनीतिक संवाद समितिमा कानूनमन्त्री सिन्हाको संयोजकत्वमा सञ्चारमन्त्री खरेल र प्रधानमन्त्री सुशीला कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनाल रहेका छन्।