Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


एसीसी यू-१९ एसिया कप क्रिकेटमा अफगानिस्तान विजयी

नेपाल भने ६ विकेटले पराजित

572
Shares

काठमाडाैं। एसीसी यू-१९ एसिया कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले पराजित भएकाे छ।

दुबईमा बुधबार दिउँसाे सम्पन्न भएको प्रतियोगिताको समूह ‘बी’ नेपालले तेस्रो खेलमा अफगानिस्तानसँग ६ विकेटको हार ब्यहोरेको हो। यसअघि नेपालले श्रीलंका र बंगलादेशसँग लगातार पराजय भोगेपछि समूह चरणबाटै बाहिरिएको थियो। नेपालले दिएको १ सय २५ रनको लक्ष्य अफगानिस्तानले २६ दशमलव५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेकाे हाे।

अफगानिस्तानका लागि ओपनर उस्मान सादतले २८ रन र उजारूल्लाह निजाइले ६१ रन बनाएका थिए।बलिङमा नेपालका अभिषेक तिवारीले २ विकेट लिए भने विपिन शर्मा र चन्दन रामले १-१ विकेट हात पारेका हुन्। त्यसअघि टस जितेको अफगानिस्तानले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४६दशमलव४ ओभरमा १ सय २४ रनमा अलआउट भयो।

नेपालका लागि दिलसाद अलीले ३२ रन बनाएका थिए। उनले ६८ बल खेलेर चार चौका प्रहार गर्न सकेका हुन्। अभिषेक तिवारीले २० रन तथा चन्दन रामले २७ रन बनाएका थिए। रामले १० बलमा १ चौका र २ छक्का प्रहार गरेका हुन्।

बलिङमा अफगानिस्तानका नूरिस्तानी ओर्माजाइ र सलाम खानले ३-३ विकेट लिएका थिए।