Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


लोककवि राजभाई जकःम सम्मानित, ऐतिहासिक काव्य संग्रह लोकार्पण


65
Shares

काठमाडाैं ।

लोककवि राजभाई जकःमिलाई जन अभिनन्दनसहित “नेपाः रत्न पदक” बाट सम्मानित गरिएको छ ।

साथै उहाँद्वारा लिखित कीर्तिपुर नगरको पहिचान झल्काउने ऐतिहासिक काव्य संग्रह “किपू देय्या तजिलजि” को लोकार्पण पनि सम्पन्न भएको छ ।

“नव प्रतिभालाई प्रोत्साहन, अग्रजलाई सम्मान, हाम्रो कला–संस्कृति नेपालको मौलिक पहिचान” भन्ने नाराका साथ नेपाल कला–संस्कृति उत्थान समाजको आयोजनामा, कीर्तिपुर नगरपालिकाको सहकार्य तथा विभिन्न संघ–संस्थाको संयुक्त सहभागितामा लोककवि राजभाई जकःमिलाई वृहत् जन अभिनन्दन गरिएको हो ।

नेपालभाषा साहित्य क्षेत्रमा उहाँले सिर्जनामार्फत पुर्‍याउँदै आउनुभएको अतुलनीय योगदानको कदरस्वरूप आयोजक संस्थाले पहिलो पटक अभिनन्दित व्यक्तित्वका रूपमा उहाँलाई “नेपाः रत्न पदक” बाट सम्मान गरेको हो ।

शनिवार कीर्तिपुरको पांगा स्थित कीर्तिपुर सिनेप्लेक्स हलमा आयोजित वृहत् जन अभिनन्दन कार्यक्रम नेपाल कला–संस्कृति उत्थान समाजका अध्यक्ष विजयलाल डंगोलको संयोजकत्वमा सम्पन्न भयो । पांगा दोबाटोबाट बाजागाजासहित सुरु गरिएको जन अभिनन्दन र्‍याली शहर परिक्रमा गर्दै कीर्तिपुर सिनेप्लेक्स हलमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।

कार्यक्रममा कीर्तिपुर नगरपालिकाका नगर प्रमुख कृष्णमान डंगोल प्रमुख अतिथि रहनु भएको थियो भने बागमती प्रदेश सांसद तथा पूर्वमन्त्री पुकार महर्जन र कीर्तिपुर नगरपालिकाकी उप–प्रमुख शुभलक्ष्मी शाक्य सुनिता विशेष अतिथिका रूपमा सहभागी हुनु भएको थियो ।

कार्यक्रमकै अवसरमा लोककवि राजभाई जकःमिद्वारा रचित कीर्तिपुर नगरको पहिचानसम्बन्धी ऐतिहासिक काव्य संग्रह “किपू देय्या तजिलजि” कीर्तिपुर नगरपालिकाको सहकार्यमा लोकार्पण गरिएको हो । साथै लोककवि जकःमिद्वारा रचित गीत–संगीत ख्यालिजुजु मदनकृष्ण श्रेष्ठ, पवित्र कसाः, संगीता शाक्य, सतीश महर्जन, रिता महर्जन, मथुरा महर्जन, कृष्णमान डंगोल, दीपा महर्जन र रत्नशोभा महर्जनले प्रस्तुत गर्नुभयो ।