काठमाडौं ।
भारत गोवाको नाइट क्लबमा आगलागी हुँदा मृत्यु भएका सबै नेपालीको पहिचान खुलेको छ । गत शनिबारको घटनामा पाँच नेपालीसहित २५ जनाले ज्यान गुमाएका थिए ।
गोवा प्रहरीका अनुसार मृत्यु हुने नेपालीहरुमा दाङका ३१ वर्षीय चुर्णबहादुर पुन, सिन्धुलीका लिलबहादुर कटुवाल, झापाका सविन विश्वकर्मा र सुदीप विश्वकर्मा तथा डडेलधुराका मनोज जोरा छन् । उनीहरुको शव नेपाल ल्याउने तयारी भइरहेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार उनीहरुको शव ल्याउन नयाँदिल्लीस्थित नेपाली राजदूतावासले गोवा सरकारसँग समन्वय गरिरहेको छ । चुर्णबहादुरको शवलाई गोवाबाट एयर एम्बुलेन्समार्फत लखनउ र लखनउबाट गाडीमा दाङ पुर्याउने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अन्यको हकमा पनि घरसम्मै शव पुर्याइदिने पहल भइरहेको छ । त्यसका लागि भारतमा रहेका नेपालीहरुले पनि सहयोग गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपालीहरु कार्यरत सो नाइट क्लबमा शनिबार मध्यराति आगलागी सुरु भएको थियो । साँघुरा बाटोका कारण दमकल पुग्न नसक्दा र आगो नियन्त्रणको प्रभावकारी प्रबन्ध नहुँदा मानवीय क्षति पनि बढी भएको थियो । नाइट क्लबमा धेरैजसो मानिस भुइँतलामा र भान्सातिरै थुनिएर मृत्यु भएको पाइएको छ ।
केहीको जलेर र केहीको धुँवामा निसास्एिर मृत्यु भएको अधिकारीहरुले बताएका छन् । घटना सम्बन्धी प्रारम्भिक अनुसन्धानले क्लबले आवश्यक सुरक्षा मापदण्ड पालना नगरेको र अवैध रूपमा सञ्चालन भइरहेको पाइएको छ । गोवा प्रहरीले नाइट क्लबका महाप्रबन्धक र कर्मचारीसहित चार जनालाई पक्राउ गरेको छ ।





प्रतिक्रिया दिनुहोस्