Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


ईश्वर पोखरेलको पार्टीमा योगदान ओलीको भन्दा कम छैन: उषाकिरण तिमल्सिना

पोखरेलले नेता तथा कार्यकर्ताका कुरा सुन्ने विश्वास व्यक्त

637
Shares

काठमाडाैं। केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पार्टीमा योगदान केपी शर्मा ओलीको भन्दा कम नभएको बताउनुभएकाे छ।

काठमाडाैंमा मंगलबार एमालेको ११ औं महाधिवेशन सन्दर्भमा आयोजित अन्तरसंवाद कार्यक्रममा बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। ओली र पोखरेलसँगै राजनीतिमा लागेको उल्लेख गर्दै उहाँले कोअर्डिनेसन केन्द्रदेखि नै पोखरल निरन्तर रुपमा देशका सम्पूर्ण भुगोलमा गएर पार्टीको काम गरेको बताउनुभयो। पोखरेलले सामूहिक रुपमा पार्टी चलाउने प्रतिवद्धता जनाउनुभएको उहाँको भनाइ छ। ओलीले पार्टी र राज्यसत्ता मनाेमानी ढंगले चलाएर आफूहरुको कुरा नसुनेको गुनासो गर्दै उहाँले पोखरेलले आफूहरुका कुरा सुन्ने विश्वास व्यक्त गर्नुभयो।

नेतृ तिमल्सिनाले अध्यक्ष ओलीले आफ्नो विपक्षमा बोल्नेहरुको सदस्यता नै हटाइदिने गरेको बताउनुभएकाे छ। भीम रावल र पूर्वराष्ट्रपति विद्या भण्डारीले ओलीको विपक्षमा बोलेको कारण नै पार्टी सदस्यता खोसिदिएको आरोप समेत लगाउनुभयो। नेतृत्वको विपक्षमा बोलेकै कारण आफूले पनि कारबाही भोगेको उहाँको भनाइ छ।

त्यस्तै, केन्द्रीय सदस्य सर्मिला कार्की र सरिता न्यौपाने लगायतले नेतृत्व परिवर्तनमा जोड दिएका हुन्। उनीहरुले दुई कार्यकाल अध्यक्ष र ७० वर्षे उमेरहदलाई अनिवार्य लागू गर्नुपर्ने बताएका छन्। अध्यक्ष ओलीले सहज रुपमा नेतृत्व हस्तान्तरण गर्नु नै आजको आवश्यकता रहेको उनीहरुले बताएका हुन्।