काठमाडाैं। नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीले महिलाहरुलाई सधैं अपमान गरेको आरोप लगाउनुभएको छ।
काठमाडाैंमा मंगलबार एमालेको ११ औं महाधिवेशन सन्दर्भमा आयोजित अन्तरसंवाद कार्यक्रममा बाेल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो। उहाँले अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई धामी-झाँक्री भनेर अपमान गरेको बताउनुभयो। गणतन्त्र नेपालको प्रधानमन्त्री भईसकेको व्यक्तिले पूर्वराष्ट्रपतिलाई पटक-पटक अपमानित शब्दहरु प्रयोग गर्ने गरेको उहाँको आरोप छ। उहाँले कुनैपनि नेतृत्वलाई महिलाहरुको अपमान गर्न नसुहाउने भए पनि ओलीलाई भने सुहाउने भन्दै व्यङ्ग्य पनि गर्नुभयो।
ओलीमा महिलालाई हेर्ने सकरात्मक सोच र दृष्टिकोण नै नभएको उहाँको दावी छ। उहाँले महिलाको अपमान गर्नेकोविरुद्ध सशक्त आवाज उठाउनुपर्ने बताउनुभयो। महिलालाई अपमान गर्ने, अवमूल्यन गर्ने नेतृत्व आजको आवश्यक्ता नभएको उहाँको भनाइ छ। अध्यक्ष ओलीले सञ्चार माध्यममा पूर्वराष्ट्रपति भण्डारी चालेका कदमहरुमा व्यंग्य भावसहित आफूसँग सल्लाह नै नगरिकन परैदेखि धामीले जस्तो घुमरौं लाएर झल्र्याङ्–झल्र्याङ् गरेर मुजुरका प्वाँख–स्वाँख लाएर ढ्याङढ्याङ पार्दै ‘म राष्ट्रपतिबाट आएँ, ठाउँ छोड्, ठाउँ छोड्, म अध्यक्ष हुन्छु, ठाउँ छोड्’ भन्दै आउन मिल्छ भन्दै प्रश्न उठाउनुभएको थियो। सोही कुरालाई उपाध्यक्ष शाक्यले आपत्ति जनाउनुभएको हो।
उपाध्यक्ष शाक्यले अध्यक्ष ओली कहिल्यै नसच्चिने दावी समेत गर्नुभयो। उहाँले ओलीको नेतृत्वमा नै अब पनि एमाले जाने हो भने एमाले र देश दुवै कमजोर हुने बताउनुभएकाे छ। एमाले बलियो बनाउन ओलीलाई अध्यक्ष बनाउन नहुने समेत उहाँले बताउनुभयो। ११ औं महाधिवेशनबाट अध्यक्ष नबन्ने उहाँको भनाइ छ।





प्रतिक्रिया दिनुहोस्