काठमाडाैं। जेनजी अभियन्ता मिराज ढुंगानाले प्रधानमन्त्री सुशीला कार्कीलाई जेनजी आन्दोलनको अपमान नगर्न आग्रह गर्नुभएको छ।
जेनजी अभियन्ता प्रकाश शर्मालाई रिहाइ गर्न माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा आइतबार पुग्नुभएका उहाँले यस्तो आग्रह गर्नुभएको हो। उहाँले निर्वाचनपछिको सरकारले देशको विकासका लागि ठोस काम गर्ने अपेक्षा आफूहरुले नगरेको पनि बताउनुभयो । पुराना दलका नेताहरूको सरकारमा पुनः आगमन हुने सम्भावनाप्रति उहाँले चिन्ता व्यक्त गर्नुभएकाे छ। ढुंगानाले अन्तरिम सरकार देश विकासमा असफल भएको अवस्थामा प्रधानमन्त्री कार्कीले राजीनामा दिनुपर्ने माग गर्नुभयो। अन्तरिम सरकार हाइज्याक भएको भन्दै जेनजी युवाहरुको माग सम्बोधन नभएको ढुंगानाकाे भनाइ छ।
जेनजी युवा प्रकाश शर्माले पनि पछिल्लो समय आन्दोलनको माग सम्बोधन नगरेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामाको माग गर्दै पर्चा टाँस्ने कार्यमा सहभागी भएको बताउनुभयो । उहाँले शनिबार राति पक्राउ परेको अनुभव साझा गर्दै अन्तरिम सरकार जेनजी आन्दोलनको आधारमा बनेको भएता पनि आफूहरुको माग सम्बोधन नगरेको बताउनुभएकाे छ।
भदौ २३ गतेको आन्दोलमा भएको घटनाको छानबिन नगरी २४ गतेको आन्दोलनमा सहभागी भएका युवाहरुलाई मात्र प्रहरीले पक्राउ गरेको उहाँले बताउनुभयो।





प्रतिक्रिया दिनुहोस्