काठमाडौं ।
जनकपुरधाममा सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव आज पनि जारी छ ।
प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा मंसीर ४ गतेदेखि सुरु महोत्सव अन्तरगत आज तिलकोत्सव रहेको छ । भोली मटकोर पर्सि मंगलबार विवाहपञ्चमीको मुख्यदिन विवाह उत्सव रहेको छ ।
महोत्सव हेर्नका लागि जनकपुरधाममा विशेष गरी भारतीय तथा आन्तरिक पर्यटकको भीड बढ्ने गर्दछ । मंगलबार हुने रामसीताको वैवाहिक कार्यक्रमका लागि जानकी मन्दिरले भव्य तयारी गरेको छ ।
रंगभूमि मैदान १२ विघामा हुने सीताराम स्वयम्बरकालागि यस वर्ष भव्य मञ्चको निर्माण पनि गरिदैछ । प्राचिनकालमा मिथिलाका राजा जनककी छोरी सीताको विवाह अयोध्याका राजा दशरथको जेठा छोरा रामसँग भएको स्मरणमा विवाहपञ्चमी मनाइने गरिन्छ ।
यता सीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा जनकपुरधाममा तीन दिन मदिरा तथा माछा÷मासुको बिक्री वितरणमा रोक लगाइएको छ । यसका साथै सुरक्षा व्यवस्था समेत कडाई बनाइएको छ ।
विवाहपञ्चमी महोत्सवमा शान्ति सुरक्षा कायम राख्नकालागि नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी २ हजार १ सय बढी सुरक्षाकर्मी परिचालन गरी संयुक्त सुरक्षा योजना लागु गरिएको छ ।
आउँदो बुधवार रामकलेवा गरी सप्ताहव्यापी श्री सीताराम विवाहपञ्चमी महोत्सव समापन हुनेछ ।




प्रतिक्रिया दिनुहोस्