Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


केपी ओलीकै कारण आगामी फागुन २१ गते निर्वाचन नहुनसक्छः पूर्वमन्त्री भुसाल


741
Shares

काठमाडाैं। पूर्वमन्त्री घनश्याम भुसालले आगामी निर्वाचनका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली एक मात्र बाधक रहेको टिप्पणी गर्नुभएको छ।

उहाँले अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधि सभा निर्वाचन अन्य कुनै कारणले रोक्नुपर्ने वा सार्नुपर्ने कारण नरहेको बताउनुभएको हो। अन्तरिम सरकारले प्रतिनिधि सभा सदस्य निर्वाचन आगामी फागुन २१ गतेका लागि तोकेको छ। जेनजी आन्दोलनबाट तत्कालीन सरकार र संसद विघटन भएसँगै सुशीला कार्कीको अन्तरिम सरकार बनेको थियो। अन्तरिम सरकारले फागुन २१ का लागि तोकेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलहरुले सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको बताउँदै आएका छन्।

एमालेले संसद पुनःस्थापनको एजेण्डा अघि सारेको छ भने नेपाली कांग्रेसमा मत विभाजित छ। अन्य राजनीतिक दलहरु भने निर्वाचनमा जाने मनस्थितिमा छन् । पूर्वमन्त्री भुसालले संचारकर्मीसँग कुरा गर्दै आफूहरु नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित निर्वाचनमा जाने घोषणा गर्नुभयो। आफूहरुको पहिल्यै राजनीतिक दल रहेको बताउँदै आउने निर्वाचनमा एजेण्डासहित प्रस्तुत हुने जिकिर गर्नुभयो। निर्वाचनका लागि ओली एकमात्रै बाधक रहनुभएको उहाँको भनाइ छ।

अरु कुनै कुराले निर्वाचन नरोकिने उहाँको स्पष्टोक्ति छ। सबै राजनीतिक दलहरुले निर्वाचनको प्रचारप्रसार गरिसकेपछि लतारिएर निर्वाचनमा आउनुको विकल्प अध्यक्ष ओलीसँग नरहेको उहाँको तर्क छ। सरकारको तयारी, राजनीतिक वातावरणको हिसाबले निर्वाचन सार्नुपर्ने र नहुनुपर्ने कुनै कारण नरहेको उहाँले बताउनुभयो ।

पूर्वमन्त्री भुसालले अध्यक्ष ओली सहजै निर्वाचनमा नआउने तर मुलुकको राजनीति र नागरिकहरुले लतारेपछि बाध्य हुने बताउनुभयो ।