काठमाडाैं। सरकार र निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनको तयारी गरिरहँदा देशका प्रमुख दुई राजनीतिक दल भने अझै चुनावकाे बारेमा स्पष्ट हुन सकिरहेका छैनन् ।
बरु नेपाली कांग्रेस र नेकपा एमालेभित्र चुनावको तयारी भन्दा प्रतिनिधिसभा पुनःस्थापननाको बहस चलिरहेको छ। एमाले त संसद पुन:स्थापनालाई नै प्रमुख मुद्दा बनाउने निर्णय गरिसकेको छ। कांग्रेसमा पनि पुन:स्थापनाका लागि बुहमत सांसदको हस्ताक्षर गरेर केन्द्रीय समितिमा बुझाउने तयारी छ। खासमा आन्दोलनबाट सत्ताच्यूत भएका कांग्रेस एमालेको अबको रणनीति के हो त ?
कांग्रेसभित्र विघटित प्रतिनिधिसभाको संसदीय दलका प्रमुख संचेतक श्याम घिमिरेले पुनःस्थापनका लागि भन्दै सांसदहरुको हस्ताक्षर संकलन गरिरहेका छन् । घिमिरेले हस्ताक्षर गराइरहँदा सांसदहरु नै त्यसको पक्ष र विपक्षीमा विभाजित देखिएका छन् । उता महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरुले निर्वाचनका लागि लाग्न निर्देशन दिनेदेखि मतदाता नामावलीमा नामदर्ताका लागि आवहन गरिरहेका छन् । जारी केन्द्रीय समितिमा पनि अधिकांशको धारणा निर्वाचन नै भन्ने आइरहेको छ। महाधिवेशन कहिले भन्ने निर्णयमा पुग्न नसकेको कांग्रेसलाई निर्वाचन र पुनःस्थापनको विषयले पनि थप पिरोल्ने देखिन्छ।
विघटनलाई असंवैधानिक भन्दा भन्दै पनि कांग्रेस चुनावमा जान पनि तयार देखिएको छ। सरकारले वातावरण बनाएमा आफूहरु निर्वाचनका लागि तयार रहेको कांग्रेस नेताहरुले सार्वजनिक रुपमै बताउदै आएका छन् । तर संस्थापन पक्षको दवावमा पुन:स्थापनाका लागि भन्दै हस्ताक्षर पनि लिइदैछ । एमालले त प्रतिनिधि सभा पुनःस्थापनलाई मूल मुद्दा बनाइरहेको छ। यतिसम्म कि आगामी मंसिर २ गतेका लागि विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक नै बोलाएको छ। संवैधानिक निकासका विषयमा छलफल गर्ने भन्दै उसले त्यो बैठक बोलाएको हो। पार्टीले संस्थागत रुपमा निर्णय गरिसकेको यो विषयलाई अध्यक्ष केपी शर्मा ओलीले त सबै सार्वजनिक कार्यक्रमबाट सम्झाउने गर्नुभएकाे छ।
एमालेको चाहना कांग्रेससँग मिलेर रिट लिएर अदालत जान पाएमा पुनःस्थापनाको आधार बलिाये बन्ने थियो भन्ने देखिन्छ। त्यसका लागि उसले कांग्रेसको केन्द्रीय समितिको निर्णयलाई समेत कुरेको छ। उता उपाचारका लागि सिंगापुरमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको चाहना पनि पुनःस्थापना नै हो भन्ने दावी कांग्रेस संस्थापनको छ। त्यसैले होला संस्थापन पक्षकै नेताहरु केही पनि परिवर्तन नहुने स्थितिमा निर्वाचन मात्रै अगाडि सारेर कुनै अर्थ नभएको भन्दै पुनःस्थापनालाई उत्तम विकल्प भएकाे प्रमुख संचेतक घिमिरेले बताउनुभयाे।
कांग्रेस केन्द्रीय समितिले यो पुन:स्थापनाको प्रस्ताव नै पारित गरेर जाने स्थिति क्षीण देखिन्छ। कांग्रेसलाई एमालेसँगको सहकार्य जस्तो देखिने गरि निर्णय लिंदा सार्वजनिक रुपमा आलोचना हुन्छ भन्ने पनि थाहा छ। त्यसैले कुनै बीचको बाटो फेला पर्छ कि भन्नेमा समेत कांग्रेस लागेको छ। कांग्रेसले हस्ताक्षर अभियान नै चलाए पनि एमालेसँगै मिलेरै पुनःस्थापनको रिट लिएर जाने सम्भावना भने न्यून छ।
भिडियाे रिपाेर्ट:




प्रतिक्रिया दिनुहोस्