Logo ६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026


स्याङ्जामा लाखेको मुकुन्डो हस्तान्तरण कार्यक्रम सम्पन्न


975
Shares

केके मानन्धर
स्याङ्जा
। स्याङ्जाको सेखामका नेवारहरुलाई लाखेको मुकुन्डो र पोशाक हस्तान्तरण गरिएको छ।

चापाकोट नगरपालिका-५ स्थित ग्रामीण भेगमा सघन रुपमा बसोबास गर्दै आएका मानन्धरहरुलाई केन्द्रीय मानन्धर संघले सम्पदा संरक्षण महाअभियानसँग समन्वय गरेर लाखे नाचको लागि आवश्यक सामग्री हस्तान्तरण गरेको हो। लोप हुने तरखरमा रहेको लाखे नाच संरक्षण, प्रवद्र्धन र विकास गर्नको लागि काठमाडौंदेखि स्याङ्जा पुगेको टोलीले रामडाँडामा आयोजित कार्यक्रममा मौलिक सामग्री हस्तान्तरण गरेको संघका सदस्य गजेन्द्र प्रसाद मानन्धरले बताउनुभयाे ।

उहाँले भन्नुभयाे,-‘स्याङ्जाको चापाकोट नगरपालिका र हरिनास गाउँपालिकाका विभिन्न टोलमा सघन रुपमा बस्दै आएका मानन्धरहरुको मातृभाषा, कला र संस्कृति संरक्षण गर्नको लागि हामीले केही वर्ष यतादेखि अभियान सन्चालन गरेका छौं ।’

स्याङ्जामा अस्तित्वमा रहेका मूर्त र अमूर्त सम्पदालाई थप परिस्कृत गर्न विभिन्न कार्यक्रम मार्फत धिमे बाजा प्रशिक्षण, धिमे नृत्य तथा नेपाल भाषा प्रशिक्षण गराएको बौद्धधर्म र ध्यान सम्बन्धिका अध्येता भेषराज मानन्धरले बताउनुभयाे । भौतिक र प्रविधिको प्रयोग गरेर अनलाइन कक्षामार्फत अहिले पनि दैनिक रुपमा बाजा र भाषाको प्रशिक्षण भइरहेको उहाँले जानकारी दिनुभएकाे छ।

हुन पनि गृहकोट, सालडाँडा, सेखाम, क्याक्मी, गैराखोला लगायतका ठाउँमा अहिले पनि लाखे नाच र रोपाइँ जात्रा संचालनमा छन् । तर ती नाचलाई अझै मौलिकता प्रदान गर्न थप सुदृढ गर्नको लागि विभिन्न कार्यक्रम सन्चालन भइरहेका छन् । कार्यक्रममा सेखामबासीले लाखे नाच तथा धिमे बाजासँगै नाच पनि प्रदर्शनी गरेका थिए ।

साेही कार्यक्रममा हरिनास गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धर, केन्द्रीय मानन्धर संघका पदाधिकारी, चापाकोट नगरपालिका-५ का वडाध्यक्ष बल नारायण श्रेष्ठ, सम्पदा संरक्षण महाअभियानका अध्यक्ष सुनिल प्रजापति, हरिनास मानन्धर संस्कृति संरक्षण समितिका पदाधिकारी तथा स्थानीयबासी सहभागी थिए।

स्याङ्जाको हरिनासमा ३५ सय र सेखाममा ५ सय मानन्धरहरु विभिन्न टोलमा सघन रुपमा बसोबास गर्छन् ।

Skip This