काठमाडाैं । नेकपा एमालेभित्र अहिले ११ औं महाधिवेशनको माहोल शुरु भइसकेको छ।
आगामी मंसिर २७ देखि २९ गतेसम्म काठमाडौं गर्ने गरी तय भएको महाधिवेशनको तयारी शुरु भएसँगै नेताहरु आ-आफ्नो तरिकाले खुल्न थालेका हुन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले तेस्रो कार्यकालका लागि तयारी गरिरहनुभएकाे छ। अर्को खेमाले भने पार्टीमा ओलीको सार्थकता सकिएको भन्न थालेको हाे। यसले महाधिवेशनको मिति नजिकिंदै गर्दा ओलीलाई काउन्टर दिने पक्ष पनि सशक्त ढंगले आउने सम्भावना देखाएको छ।
एमालेको महाधिवेशनको कार्यतालिका नै सार्वजनिक भइसकेको अवस्थामा संस्थापन र इतर समूहले आ-आफ्नै खालको रणनीति बनाइरहेका छन् । संस्थापन पक्षले ओलीलाई अध्यक्षको रुपमा अगाडि सार्ने निश्चित छ । यद्यपी संस्थापनभित्र पनि नेता व्यवस्थापन कसरी जाने भन्ने छलफल चलिरहेको छ। पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टी राजनीतिमा सक्रिय हुने अवस्था नबनेमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अगाडि सारेर जाने तयारी समेत इतर पक्षको देखिन्छ।
यो समूहले उपाध्यक्ष विष्णु पौडेल र पृथ्वीसुव्बा गुरुङ लागयतका नेताहरुको भूमिकालाई कुरेर बसेको देखिन्छ। उता अध्यक्ष ओली समेत वीचमा देखिएका नेताहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने छलफलमा नै रहेको देखिन्छ । यो स्थितिमा संस्थापन पक्षले नेतृत्वमा भने ओलीको विकल्प नभएकाे एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमकाे दावी छ।
एक दशक यता एमालेको राजनीतिमा ओली एकछत्र राज गरिरहनुभएकाे छ। ओलीले जे भन्यो त्यो नै पार्टीको निर्णय हुने अवस्थाबाट एमाले गुज्रिंदै आएको छ। पछिल्लो समय वरिष्ठ उपाध्यक्ष पोखरेल, सचिव योगेश भट्टराई र कर्ण थापा लगायतका नेताहरु त्यसको विपक्षमा उभिन खोजिरहेका छन् । उनीहरु सार्वजनिक रुपमा बोल्न थालेपछि ओलीले रोक्ने प्रयत्न शुरु गरिसकेका हुन्। ओलीले आफूविरुद्ध बोल्ने नेताहरुलाई पार्टी छाेडेर गएता पनि हुन्छ भन्नसम्म भ्याइसक्नुभएकाे छ।
ओलीले विपक्षमा बोल्ने नेताहरुलाई निषेध नै गरेर जान खोजेको भन्दै अर्को पक्षले कुनै पनि हालतमा ११औं महाधिवेशनबाट ओलीलाई बिदा गर्नुपर्ने अभियानमा लागेका छन् । उनीहरुले त अब एमालेमा ओलीको सान्दर्भिकता नै सकिएको एमालेका नेता कर्ण थापाकाे तर्क छ।
एमालेभित्र भएको कित्ताकाट महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया शुरु हुने समयसम्म भइसक्ने देखिन्छ । जसले एमालेको ११ औं महाधिवेशन ओलीले सोचे जस्तो निर्विकल्प अध्यक्षको उमेदवार नहुने देखिंदैछ।




प्रतिक्रिया दिनुहोस्