२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024


नेपाल प्रहरीको छवि धुमिल बन्दै


0
Shares

दीपक श्रेष्ठ/राजेन्द्र नापित/प्रदीप तामाङ (इमेज)

काठमाडौं, असोज ६ । अपराध अनुसन्धानमा अब्बल मानिँदै आएको नेपाल प्रहरी पछिल्लो समयमा विवादित बन्दै गएको छ ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु नै विभिन्न घटनामा मुछिन थालेपछि उनीहरुले गरेको अनुसन्धानमै शंका उत्पन्न हुन थालेको छ । नागरिकमाझ प्रहरीको छवि धुमिल हुँदै गएको छ ।

विभिन्न अपराधका घटनामा सफलतापूर्वक अनुसन्धान गर्न नसकेको र अनुसन्धानलाई बेवास्ता गरेका कारण प्रहरी संगठनकै छवि धुमिल हुन थालेको हो ।

कतिपय घटनामा प्रहरीले अपराधका दसीप्रमाणसमेत लुकाएको आरोप लागेको छ ।

कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका अभियुक्तलाई जोगाउन प्रहरीले नै प्रमाण नस्ट गरेको आरोप लागेपछि संगठन नै बदनाम हुने अवस्थामा पुगेको हो ।

प्रहरी संगठनभित्रको राजनीतिक हस्तक्षेप, सरुवा–बढुवामा हुने गरेको भेदभाव र गरेको कामको सही मूल्यांकन नगर्ने परिपाटीले पनि प्रहरी संगठनको छवि बिग्रँदै गएको पूर्वप्रहरी अधिकारीहरु बताउँछन् ।

पछिल्लो चार महिनाभित्रै कर्तव्य पालनमा लापरबाही गर्ने ४९५ जना प्रहरी कारबाहीमासमेत परेका छन् । कारबाहीमा पर्नेमा एसएसपीदेखि जवानसम्म छन् ।

कारबाहीमा पर्नेमा सबैभन्दा बढी अर्थात् ३५० जना प्रहरीजवान रहेको प्रहरीको तथ्यांकले देखाएको छ । एसएसपीदेखि जवानसम्मका ४९ जना त निलम्बनमै परेका छन् ।

नागरिकलाई सेवा दिनु प्रहरीको मुख्य कर्तव्य हो । तर, पीडितले न्याय पाउने अवस्था नदेखिँदा समाजमा प्रहरीप्रतिको विश्वास गुम्ने बताउँछन्, पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा ।

प्रहरी अधिकारीहरुले गरेका केही गैरजिम्मेवारपूर्ण कामका कारण सरकारसमेत आलोचित हुँदै गएको छ ।

नागरिकले विश्वास गरेका प्रहरीबाटै पीडितहरुले समयमै सहयोग नपाउनु र घटनास्थल सुरक्षित नराखी अनुसन्धानका लागि अतिआवश्यक सबुत् नै मेटाउनेजस्ता गैरजिम्मेवारीपूर्ण काममा संलग्न हुन थालेको प्रमाण भेटिएपछि संगठनको छवि नै धुमिल बन्न थालेको बताउँछन्, पूर्वगृहसचिव श्रीकान्त रेग्मी ।

प्रहरीमा नयाँ नेतृत्व आएसँगै संगठनलाई विश्वासिलो र जनताको सेवककारुपमा विकसित गर्ने प्रतिबद्धता आउने गरेका छन् । तर, व्यवहारमा त्यो देखिन छाडेको छ ।

भिडियो हेर्नुहोस्