काठमाडाैं । नवगठित नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले नेपाली राजनीतिको मुख्य समस्या नै भ्रष्टाचार र कुशासन रहेको बताउनुभएको छ।
काठमाडौंमा बुधबार आयोजित पार्टीको एकता राष्ट्रिय सम्मेलनलाई सम्बाेधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले समाजिक न्याय र समानताको लागि नेकपा माओवादी केन्द्रसहितका दलहरुसँग पार्टी एकता गर्नुपरेको बताउनुभयो । उहाँले वर्तमान राजनीतिक प्रणालीमा जिम्मेवारी भन्दा पदको मोह बढी भएको बताउँदै नेताहरुमा इमानदारी, त्याग र तपस्याको कमी रहेको पनि टिप्पणी गर्नुभएकाे छ।
सह-संयाेजक नेपालले पार्टी र नेतृत्वले आफ्नै आचरण र व्यवहारबाट जनताको विश्वास जित्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले विगतको वामएकताको प्रयासमा संलग्न रहेका अधिकांश नेताहरु यही पार्टीमा रहेको उल्लेख गर्दै मुख्य कम्युनिष्ट दल नेपाली कम्युनिष्ट पार्टी नै बनेको पनि जिकिर गर्नुभएकाे छ।
सह-संयोजक नेपालले नयाँ पुस्तामा विश्वास र आशा जगाउनेतर्फ ध्यान दिनुपर्ने बताउँदै देश निर्माणका कमजोरी सुधार्दै अघि बढ्न आफूहरु प्रतिवद्ध रहेको पनि बताउनुभयो । उहाँले समाजवादी मोर्चालाई समेत सँगसँगै अगाडि बढाउनुपर्ने बताउनुभएकाे छ । उहाँले विभिन्न घटकका कार्यकर्तालाई उत्साहित बनाउन मोर्चाले महत्वपूर्ण भूमिका खेल्ने भन्दै आत्मविश्वासका साथ अघि बढ्न सबैमा आग्रह गर्नुभयो।




प्रतिक्रिया दिनुहोस्