Logo १९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026


नागढुङ्गा-मुग्लिन सडक : १६ स्थानमा पहिरोको जोखिम


793
Shares

काठमाडौं ।
अविरल वर्षासँगै पृथ्वी राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत धादिङ खण्डका १६ स्थानमा पहिरो र सडक भासिने उच्च जोखिम देखिएको छ ।

शनिबार जिल्ला विपद् व्यवस्थापन समिति र प्राविधिक टोलीले संयुक्त रूपमा अनुगमन गर्दा काठमाडौँ भित्रिने मुख्य राजमार्गमा विपद्को सम्भावना अत्यधिक रहेको निष्कर्ष निकालेको हो ।

सबैभन्दा बढी जोखिम बेनीघाट रोराङ गाउँपालिका–१० को जवाङखोलामा देखिएको छ। यस्तै झ्याप्ले खोला, सुरुङ मार्ग, चार किलो, सात किलो, कमेरे भिर, महेश दोभान, चिरौँदी पुल, जरेखेत पुल, गलौँदी पुल, परेवा भिर, हिलटप मोड, बाँदरे मोड, कृष्ण भिर र लालटिन बजार पहिरोको उच्च जोखिममा रहेका स्थान हुन्।

धादिङका प्रहरी उपरीक्षक भेषराज रिजालले राजमार्गमा यात्रा गर्न हाल अवस्था उपयुक्त नरहेको भन्दै सर्वसाधारणलाई सुरक्षित स्थानमै बस्न आग्रह गरेका छन् । वर्षा थप बढेमा अन्य स्थानमा पनि तत्काल पहिरो जाने खतरा रहेको जिल्ला विपद् व्यवस्थापन समिति धादिङले जनाएको छ ।

हाल पहिरोमा रोकिएका सवारीसाधनलाई क्रमशः पन्छाउँदै गन्तव्यतर्फ पठाउने कार्य भइरहेको छ। प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले जोखिम क्षेत्रहरूमा सवारी आवागमन निषेध गरिएको र आपतकालीन सवारीसाधन मात्र सुरक्षा निकायको निगरानीमा सञ्चालन हुने जानकारी दिएका छन्।