मोरङ । कोसी अस्पतालको फार्मेसीमा कार्यरत तीन करार सेवाका कर्मचारीलाई स्वास्थ्य बीमा रकम दुरुपयोग गरेको आरोपमा सेवाबाट बर्खास्त गरिएको छ।
अस्पताल प्रशासनका अनुसार दुई फार्मेसी सहायक र एक कार्यालय सहयोगीले औषधि कम आपूर्ति गरी बढी रकम बिल गर्ने, चिकित्सकले नलेखेका महँगा औषधि देखाएर भुक्तानी गर्ने, र बिरामीको नाममा अत्यधिक औषधि देखाउनेजस्ता अनियमितता गरेका थिए।
मोरङका एक क्यान्सरपीडित बिरामीको लिखित उजुरीपछि उक्त अनियमितता सार्वजनिक भएको हो। उनले सात दिनको औषधिका लागि निःशुल्क बीमा पाउने क्रममा एक महिनाको बराबर रकम कटौती भएको थाहा पाएपछि उजुरी गरेका थिए।
मेडिकल सुपरिटेन्डेन्ट डा। रुणा झाका अनुसार छानबिन समितिको प्रतिवेदनमा ती कर्मचारीको प्रत्यक्ष संलग्नता पुष्टि भएपछि बर्खास्त गरिएको हो।
कोसी अस्पतालमा दैनिक करिब १,००० बिरामी सेवा लिन आउँछन्, जसमा आधाभन्दा बढी स्वास्थ्य बीमा अन्तर्गतका हुन्छन्। दीर्घरोगीको सङ्ख्या बढ्दै जाँदा औषधि आपूर्ति तथा बिलिङ प्रणालीमा पारदर्शिता आवश्यक भएको सरोकारवालाहरूको भनाइ छ।




                
प्रतिक्रिया दिनुहोस्