Logo २६ भाद्र २०८२, बिहिबार | Thu Sep 11 2025


महेश बस्नेत भन्छन्- “म घरबारविहीन बनेको छु, तर विचलित छैन”


0
Shares

काठमाडाैं । पूर्वमन्त्री तथा सांसद महेश बस्नेतले मंगलबार भएको आन्दोलनपछि आफ्नै घरमा आगजनी भएको भन्दै सामाजिक सञ्जालमार्फत भावुक अभिव्यक्ति दिएका छन्।

बस्नेतले जलेको घरको भिडियोसहित लेख्दै आफू र परिवार घरबारविहीन भएको पीडा सार्वजनिक गरेका हुन्।

उनका अनुसार आन्दोलनकारीहरूले केवल उनको निजी घर मात्र नभई संसद भवन, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, सर्वोच्च अदालत, अख्तियार, प्रहरी प्रशासनका भवन, निजी होटल, भाटभटेनी, बैंक जस्ता संरचनामा समेत आगजनी र लुटपाट गरेका छन्।

उनी भन्छन्, “७७ वर्षका बुबा, ओपन हर्ट सर्जरी गराएकी ७२ वर्षकी आमा, राजनीति चासो नराख्ने श्रीमतीलाई आफ्नै घरभित्रै जलाउने प्रयास गरियो। म घरबारविहीन बनेको छु, तर विचलित छैन।” बस्नेतले आफूले जनताको पक्षमा बोलेको सजाय स्वरूप घरमा आगजनी भएको आरोप लगाएका छन्। उनले आफू अहिले २ करोड ५० लाख रुपैयाँ ऋणमा रहेको भन्दै पनि यो सहयोगको याचना नभई पीडाको अभिव्यक्ति मात्रै भएको स्पष्ट पारेका छन्।

उनले आन्दोलनमा मृत्यु र घाइते भएकाहरूका परिवारलाई सकेसम्म सहयोग गर्ने प्रतिज्ञा गरेका छन्। साथै, अपराधीहरूले आन्दोलनलाई कब्जा गरेको दाबी गर्दै जिम्मेवारी अब आन्दोलनकारीहरूको हातमा रहेको उल्लेख गरेका छन्। बस्नेतले भनेका छन्, “मेरो घर खरानी भयो, तर जनताप्रतिको माया कहिल्यै खरानी हुँदैन। देशको विकास र जनताको सेवामा सधैं खटिरहनेछु।” उक्त भिडियो र स्टाटस उनले हिजोको हिंसात्मक आन्दोलनपछि घरमा भएको आगजनीको घटनापछि सार्वजनिक गरेका हुन्।