२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024


संसदीय सुनुवाइ समितिबाट अख्तियार प्रमुखमा घिमिरेको नाम सर्वसम्मत अनुमोदन


0
Shares

काठमाडौं, असोज ४ । संसदीय सुनुवाइ विशेष समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरेलाई अनुमोदन गरेको छ ।

संवैधानिक परिषदबाट सिफारिस गरिएका घिमिरेलाई बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वसम्मतरुपमा अनुमोदन गरेको हो ।

संसदीय सुनुवाइकाक्रममा समितिका सदस्यका प्रश्नहरुको जवाफ दिँदै घिमिरेले कुनै आग्रह वा पूर्वाग्रहबिना आयोगका कामलाई सक्षम र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रमुख आयुक्तमा अनुमोदन भएका घिमिरेले पछिल्लो समय आयोगमा स्थानीय तह र शिक्षा क्षेत्रमा भएका अनियमितताबारे धेरै उजुरी आइरहेको भन्दै भ्रष्टाचारीहरुबाहेक अरु कोही पनि अख्तियारसँग आतंकित हुन नपर्ने बताए ।

घिमिरेले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुधारका लागि १६ पेज लामो कार्ययोजना पेस गरेका थिए ।

संसदीय समितिबाट नाम अनुमोदन भएकाले अब राष्ट्रपति विद्यादेवी भण्डारीले घिमिरेलाई अख्तियारको प्रमुख आयुक्तमा नियुक्त गर्नेछिन् ।

संवैधानिक परिषदले गत भदौ २० गते घिमिरेलाई अख्तियार प्रमुखका लागि सिफारिस गरेको थियो ।

वि.सं. २०७१ सालमा अख्तियारको आयुक्त नियुक्त भएका घिमिरेले २०७४ साल माघ २९ गतेदेखि अख्तियारको कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै आएका छन् ।