Logo २३ भाद्र २०८२, सोमबार | Mon Sep 8 2025


जेनजी प्रदर्शन: एकीकृत समाजवादीद्वारा प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको राजीनामा माग


3.315k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ ।

सोही पार्टीको केन्द्रीय सचिवालयको सोमबार बसेको आकस्मिक बैठकले ‘जेनजी’ पुस्ताका युवाहरूको आन्दोलनका सन्दर्भमा विशेष प्रस्तावसहित पारित गर्दै प्रधानमन्त्री ओेली र गृहमन्त्री लेखकको राजीनामा मागेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभएकाे हाे ।

अहिले नै तत्कालै आन्दोलनकारीका माग सम्बोधन र सामाजिक संजाल खुला गर्न सरकारसँग उहाँले माग गर्नुभयाे । यति धेरै जनताको ज्यान लिने प्रधानमन्त्री ओली र गृहमन्त्री लेखक अब पदमा बसिरहन नमिल्ने भएका कारण दुवै जनालाई तुरुन्त राजीनामा दिन समेत उहाँले आग्रह गर्नुभएकाे छ ।

प्रवक्ता ज्वालाले सामाजिक संजाल बन्द गर्ने, बोल्ने र प्रश्न गर्ने अधिकार नियन्त्रण गर्ने सरकारको अभिव्यक्ति स्वतन्त्रता विरोधी गलत निर्णयको निन्दा-विरोध समेत गर्नुभयाे । जेनजीकाे प्रदर्शनप्रति ऐक्यबद्धता जनाउँदै जायज मागहरूको समर्थन गरेको पार्टीले सामाजिक सन्जाल बन्द गरिएपछि युवाहरूमा उत्पन्न असन्तुष्टि -आक्रोश भ्रष्टाचार र कुशासनविरोधि प्रदर्शनको रूपमा अघि बढेको कुरा जायज भएको दावी गरेकाे छ ।

सरकार हिंसात्मक दमनमा उत्रिएको र केही युवाको ज्यान गएको बताउदै उहाँले सयौं घाइते भएकाे बताउनुभयाे । मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको तत्काल उपचारको व्यवस्था गर्न समेत सरकारसँग प्रवक्ता ज्वालाले आग्रह गर्नुभउकाे छ ।

एकीकृत समाजवादीले प्रदर्शनलाई उत्तेजना र मुठ-भेडतर्फ लगेर प्रदर्शनको गरिमा र यसले प्राप्त गरेको जनसमर्थन दुरुपयोग हुन नदिन जेनजी युवाहरूलाई अपिल समेत गरेको छ ।