काठमाडौं ।
सरकारको बेथिति, बढ्दो भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको सम्भावित प्रतिबन्धविरुद्ध ‘जेन जी’ पुस्ता आज (सोमबार) राजधानीको माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्दैछन्।
बिहान ११ बजेदेखि सुरु हुने यो मार्चका लागि स्थानीय प्रशासनबाट अनुमति समेत लिइएको आयोजकहरूले जनाएका छन्।
‘हामी कानुन बुझ्छौं, त्यसको पालना गर्छौं’ भन्ने नाराका साथ प्रदर्शनमा उत्रिन लागेका युवाहरूले न्याय, पारदर्शिता र सुशासनको माग गर्दै सरकारलाई जवाफदेही बनाउने उद्देश्य लिएका छन्।
आन्दोलनका आयोजकहरूद्वारा जारी विज्ञप्तिमा प्रदर्शन पूर्ण रूपमा शान्तिपूर्ण र कानुनी ढंगले हुने स्पष्ट गरिएको छ। उनीहरूले सरकार र राज्यका निकायहरूलाई शान्तिपूर्ण प्रदर्शन गर्ने नागरिकको संवैधानिक अधिकारको सम्मान गर्न आह्वान गरेका छन्। साथै, यदि आन्दोलनमाथि हिंसात्मक वा बलप्रयोग गरिएको खण्डमा त्यसको सम्पूर्ण जिम्मेवारी सरकारको हुने चेतावनी समेत दिएका छन्।
प्रदर्शनमा सहभागी सबैलाई हिंसा, तोडफोड वा कुनै प्रकारको अव्यवस्था नगर्न विशेष आग्रह गरिएको छ। ‘हाम्रो शक्ति एकता, सृजनशीलता र सत्यमा छ’ भन्ने सन्देशसहित आन्दोलन अघि बढाइएको हो।
आन्दोलनले कुनै पनि राजनीतिक दल वा नेताको एजेन्डा अघि सार्ने प्रयोजन नराखेको स्पष्ट पार्दै, आयोजकहरूले राजनीतिक स्वार्थका लागि आन्दोलनको प्रयोग नगर्न चेतावनी दिएका छन्। उनीहरूको भनाइमा यो अभियान व्यक्तिगत वा पार्टीगत फाइदाका लागि नभई नेपालको भविष्यका लागि हो। ‘जेन जी’ पुस्ताले भ्रष्टाचारविरुद्ध सशक्त आवाज उठाउँदै पारदर्शी र जवाफदेही शासन प्रणाली निर्माणको माग गरेका छन्। उनीहरू प्रशासनमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गरी सुशासन सुनिश्चित गर्न इच्छुक देखिन्छन् — जसबाट दीगो विकास, सामाजिक न्याय र मानव अधिकार सुदृढ हुने विश्वास उनीहरूले व्यक्त गरेका छन्।









प्रतिक्रिया दिनुहोस्