
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका मुर्धन्य नेताहरु कुहिरोभित्रका काग जस्तै भएको टिप्पणी गर्नुभएकाे छ ।
ललितपुरको गोदावरीमा शुक्रबार शुरु भएको एमालेको दोस्रो विधान महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्ताे टिप्पणी गर्नुभएकाे हाे । पार्टी बचाउन कार्यकर्ताको महत्त्वपूर्ण भूमिका रहेको समेत उहाँकाे भनाइ छ । एमालेको इतिहास र विरासत निकै लामो भएको उल्लेख गर्दै उहाँले मुर्धन्य नेताहरु कुहिरोका काग जस्तै बने पनि कार्यकर्ताहरुले पार्टी जोगाउँदै आएको बताउनुभयाे ।
करिब २ हजार ४ सय नेता तथा कार्यकर्ताकाे माझमा अध्यक्ष ओलीले बाइबलको कथा सुनाउँदै २०७८ सालमा दोस्रो पटक नेताहरुले पार्टी विभाजन गरेर चोट लगाए पनि कार्यकर्ताको अडान र विश्वासका कारण पार्टीमा ठूलो क्षति हुन नपाएको स्मरण गर्नुभएकाे छ।
एमाले निर्माणमा लागेका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम अहिले उक्त पार्टीमा छैनन् । नेपाल र खनालले ओलीसँग विद्रोह गरेर २०७८ सालमा नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका थिए । पछिल्लो समय गौतम पनि नेकपा एकीकृत समाजवादीमा समावेश भएका छन् ।
प्रतिक्रिया दिनुहोस्