२० भाद्र २०८२, शुक्रबार | Fri Sep 5 2025


स्थानीय सरकारलाई अझै शक्तिशाली र प्रभावकारी बनाउनुपर्छः मन्त्री न्यौपाने


130
Shares

काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले संघीयता कार्यान्वयनको चरणमा देखिएका चुनौतीहरू समाधान गर्दै स्थानीय सरकारलाई अझै शक्तिशाली र प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।

काठमाडौंमा शुक्रबार आयोजित ‘गाउँ-गाउँमा सिंहदरबार’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । संविधान तथा स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारको पूर्ण कार्यान्वयन गर्दै स्थानीय तहलाई प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ छ । अहिलेको अवस्थामा संघीयता पूर्णरुपमा कार्यान्वयन भइनसकेको उल्लेख गर्दै अझै केही समय लाग्ने उहाँले स्पष्ट पार्नुभयो ।

संविधान जारी भएपछि भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा उल्लेख्य प्रगति भएको मन्त्री न्यौपाने दावी पनि गर्नुभएकाे छ । स्थानीय सरकार जनतामाझ सेवा प्रवाहमा सबै भन्दा नजिकको सरकार भएको उल्लेख गर्दै उहाँले त्यसलाई बलियो बनाउन संघ र प्रदेशले अधिकार हस्तान्तरण गर्न जरुरी रहेको बताउनुभयो ।

मन्त्री न्यौपाने सबै तहका सरकारले आफ्नो कार्यक्षेत्र, अधिकार र कर्तव्य पालना गर्नसकेमात्र संविधानको सफल कार्यान्वयन हुने भन्दै यसतर्फ सबैको ध्यान जान जरुरी रहेको बताउनुभएकाे छ ।