
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकमा व्यापारी मार्ग बनाउने भारत र चीनको समझदारीकाे बारेमा आफूले चीनसँग स्पष्ट रुपमा कुरा राखेको बताउनुभएको छ ।
ललितपुरकाे गाेदावरीमा शुक्रबार एमालेको विधान अधिवेशन उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री ओलीले सोही कुरा अडियो -भिडियोहरुमा रेकर्डेड रहेको र कुटनीतिक नोटहरुमा पनि समावेश गरिएको बताउनुभएकाे हाे। आफूले चीनका राष्ट्रपति सी जिनपिङसँग औपचारिक भेटवार्तामा नेपाली भूमिलाई दुई ठूलो मुलुकमा व्यापारिक मार्ग बनाउने समझदारीप्रति असहमती जनाएको समेत उहाँले बताउनुभएको हो ।
उहाँले राष्ट्रपति सीले सो विषयमा भारतसँग कुटनीतिक वार्ता गरेर समस्या समाधान गर्न सुझाव दिएको समेत बताउनुभयो । नेपालको सार्वभौमसत्तामा तलमाथि पर्न नदिइने कुरा पनि राष्ट्रपति सीले आफूसँगको वार्तामा भनेको प्रधानमन्त्री ओलीको भनाइ छ। सो विषयमा भारतीय पक्षसँग नै समाधानका लागि आफूले पहल गर्ने समेत उहाँले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले आफूले राष्ट्रको इज्जत, प्रतिष्ठा र हितमा केन्द्रित भएर विदेश भ्रमण गर्ने गरेको पनि बताउनु भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्