१८ भाद्र २०८२, बुधबार | Wed Sep 3 2025


संविधान कार्यान्वयनका लागि नीतिगत र कानूनी सुधार सरकारको प्राथमिकतामाः गृहमन्त्री लेखक


182
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान कार्यान्वयनको लागि नीतिगत र कानूनी सुधार सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिंदै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो । संविधानको कार्यान्वयन, सुशासन कायम, सेवा प्रवाहलाई प्रभावकारी बनाउन कानूनहरुलाई पूर्णता दिने र नयाँ ऐन निर्माणमा सरकार सक्रियताका साथ लागिरहेको उहाँले जिकिर गर्नुभयो ।

गृहमन्त्री लेखकले आमाको नामबाट नागरिकता दिने प्रयोजनको लागि नागरिकता सम्बन्धी ऐन संशोधन गर्न लागिएको स्पष्ट पार्नुभएको छ । बाबु नभएको तथा बाबुले अपनत्व नलिएको अवस्थामा सन्तानलाई आमाको नामबाटै नागरिकता दिनको लागि ऐन संशोधन गर्न लागिएको उहाँको दावी थियो । बाबु विदेशी भएपनि नेपाली आमाबाट जन्मिएको सन्तानलाई अंगिकृत नागरिकता दिन सकिने व्यवस्था विधेयकमा समावेश गरिएको उहाँको भनाइ छ ।

गृहमन्त्री लेखकले नागरिकको सेवाको सहजताका लागि थप २३ वटा जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने गृहकार्य भइरहेको समेत बताउनुभयो । विधेयकले ऐनको रुप लिइसकेपछि कोही पनि नागरिक नागरिकता विहीन भएर बस्नु नपर्ने उहाँको दावी छ ।