१८ भाद्र २०८२, बुधबार | Wed Sep 3 2025


एमालेको विधान महाधिवेशनमा पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यताकाे बारेमा फरक मत राख्न पाइँदैन: महासचिव पोखरेल


1.664k
Shares

काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेल पार्टीको दोस्रो विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताकाे बारेमा फरक मत प्रस्तुत गर्न नमिल्ने बताउनुभएको छ ।

पार्टी मुख्यालय च्यासलमा बुधबार विधान महावेशनकाे बारेमा आयोजित पत्रकार सम्मेलन उहाँले यस्ताे बताउनुभएकाे हाे । विधान महाधिवेशनमा पार्टीको दस्तावेजमाथि मात्रै छलफल हुने वैधानिक व्यवस्था भएकाले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यताकाे बारेमा फरक मत राख्न नमिल्ने उहाँकाे तर्क छ।

महासचिव पोखरेलले सोही विषयमा पार्टीका उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले पार्टी केन्द्रीय कमिटी बैठकमा फरक मत राखेको भए पनि पार्टी कमिटीको निर्णयमाथिको सो फरक मत विधान महाधिवेशनमा छलफलको विषय गर्न विधानले नदिने जिकिर समेत गर्नुभयो । पार्टीका उपाध्यक्ष पाण्डेले सो विषयमा विधान महाधिवेशनमा फरक मत राख्ने घोषणा गरिसक्नुभएकाे छ ।

तर महासचिव पोखरेलले विधान महाधिवेशनमा विधानसँग सम्बन्धित विषयमा मात्रै फरक मत राख्न सकिने बताउनुभयो । उहाँले विधान अधिवेशनमा विधानसँग सम्बन्धित विषयमा मात्रै फरक मत राख्न सकिने उल्लेख गर्नुभएकाे छ । पार्टी निर्णयको असहमती पार्टीको राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्न उचित हुने उहाँको भनाइ थियो ।

यहि भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा एमालेले दोस्रो राष्ट्रिय विधान अधिवेशन गर्ने भएकाे छ । अधिवेशनमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुने भएकाे हाे । त्यसैगरी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव पोखरेलले संगठनात्मक प्रस्ताव प्रस्तुत गर्ने भएका छन् ।

महासचिव पोखरेलले सोही विषयमा केन्द्रित रहेर विधान महाधिवेशनमा छलफल हुने कार्यसूची रहेको बताउनुभयो । एमालेले विधान महाधिवेशनमा लागि हुने खर्च पार्टी केन्द्रीय कमिटीले नै व्यहोर्ने जनाएको छ ।