
नवलपुर । नवलपुरमा कन्टेनर र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मंगलबार राति नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको ना २ क ११९ नम्बरको कन्टेनर र बुटवलबाट नारायणघाटतर्फ जाँदै गरेको प्र २–०३००१ ख ४०५६ नम्बरको ट्रक नवलपुरको देवचुली नगरपालिका–१५ लोकाहामा एक आपसमा ठोक्किँएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा कन्टेनर चालक नवलपरासी सुस्ता गाउँपालिका–१ का ३५ वर्षीय माधव पंगेनीको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।
त्यस्तै, कन्टेनरका सहचालक चितवनको राप्ती नगरपालिका ७ का ३६ वर्षीय रामबहादुर सार्की र ट्रक चालक महोत्तरीको बर्दिवास नगरपालिका–११ का ३० वर्षीय बिच बहादुर थिङको एलाइभ अस्पताल भरतपुरमा उपचार भइरहेको नेपालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्