काठमाडौं, असोज ४ । काठमाडौ महानगरपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा काठमाडौंका खाली स्थानमा २० वटा पार्क निर्माण गर्ने घोषणा गरेको छ । तर आर्थिक वर्षको पहिलो त्रैमास सकिन लागिसक्दा समेत कहीँ कतै पार्क निर्माणको काम अघि बढेको छैन ।
सबैजसो राजनीतिक दलहरुले चुनावको बेला काठमाडौं उपत्यकालाई हराभरा बनाउने, प्रदुषणमुक्त बनाउने नारा उचालेका थिए । तर स्थानीय तहमा जनप्रतिनिधि आएको डेढ बर्ष बितिसक्दा पनि काठमाडौं उपत्यकाको मुहारमा कुनै परिवर्तन देख्न पाइएको छैन ।
विभिन्न ठाउँमा रहेका पार्कहरुकै मर्मत सम्भारमा ध्यान पुग्न नसकेको बेलामा काठमाडौं महानगरपालिकाले कुलेश्वर, थापाथली, सुकेधारा, कुमारीगाल लगायतका २० वटा स्थानमा नयाँ पार्क निमार्ण गर्ने निर्णय गरेको थियो ।
महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिबहादुर कुँवरले पार्क निर्माणका लागि डिजाइनको काम भईरहेको भन्दै दुई बर्षभित्र वाईफाई सुविधा सहितका सर्व पार्कहरु निर्माण भईसक्ने दाबी गरे ।
कुँवरले यस्तो दाबी गर्दै गर्दा ४३ वर्षदेखि अलपत्र परेको तीनकुने पार्क निर्माणको योजना पनि बिर्सन सकिदैंन । झण्डै आधा शताब्दी बित्न लाग्दा पनि तीनकुने पार्क भताभुङ्ग अवस्थामै छ ।
कतिसम्म भने विदेशी पाहुना आउँदा लाज छोप्नका लागि यस स्थानमा कहिले जस्तापाता त कहिले फ्लेक्स बोर्डहरु ठड्याउने गरिएको छ । महानगरपालिकाका योजनाहरु कसरी कागजमै सीमित छन् भन्ने बुझ्न तीनकुने पार्ककै कथा काफी छ ।
यस्तो अवस्थामा दुई वर्षभित्र २० वटा पार्क निर्माण गर्ने योजना हास्यास्पद लाग्ने गर्दछ ।
प्रतिक्रिया दिनुहोस्