Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


आज गणेश चतुर्थी: भगवान गणेशजीको पूजाअर्चना गरेर मनाइँदै


130
Shares

अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व बुधबार देशभर उत्साहका साथ मनाइँदैछ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाउने परम्परा रहेको छ। शास्त्रीय मान्यताअनुसार सत्ययुगमा भाद्र शुक्ल चतुर्थीकै दिन भगवान् गणेशको जन्म भएको थियो।

यस अवसरमा बुधबार काठमाडौँ उपत्यकाका प्रसिद्ध अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेश लगायत देशभरका गणेश मन्दिरहरूमा विशेष पूजा-आराधना गरी भगवान् गणेशको जन्मोत्सव मनाउने गरिन्छ। शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ।

भाद्र शुक्ल तृतीयाका दिन सुखद् दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ। बिहान हरितालिका (तीज) को व्रत समापनका लागि पारायण गरी मध्याह्नकालमा गणेशको पूजा आराधना गरी अघ्र्य दिनुपर्ने विधि रहेको छ। यस अवसरमा कतिपय मानिसहरू गणेश चतुर्थीको व्रत पनि बस्ने गर्छन्।

यस दिन नेवार समुदायमा बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन पनि छ। विक्रम संवत् २०६५ सालदेखि यस पर्वका अवसरमा चतुर्थीको भोलिपल्ट राजधानी लगायत मुख्य सहरहरूमा गणेश रथयात्रा पनि गरिन्छ। विसं २०६४ मा यसै दिन राष्ट्रिय धर्मसभाको स्थापना भएको थियो। यसैले यस दिनलाई धर्मसभाको स्थापना दिवसका रूपमा पनि मनाउने गरिन्छ।