
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले सरकारमा जाने कुनै कुरा नरहेको बताउनुभएको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा सचिव पौडेलले सरकारमा जानको लागि आफूहरूले तँछाडमछाड नगरेको समेत स्पष्ट पार्नुभयो । उहाँले यो वर्तमान सरकार जनताको निम्ति नभई आफ्ना मान्छेहरूलाई विभिन्न निकायमा व्यवस्थापन गर्न बनेको आरोप लगाउनुभयो ।
सचिव पौडेलले सत्ता गठबन्धन भित्रै एक मत नरहेको टिप्पणी गर्नुभयो । उहाँले नीति तथा कार्यक्रममा सरकारकै रहेकाहरूले एक स्वरले समर्थन जनाउन नसकेको बताउनुभयो । उहाँले विद्युत प्राधिकरणको विषय र गभर्नर नियुक्तिको कुरामा पनि सत्ता गठबन्धनमा रहेकाहरू एक स्वरले बोल्न नसकेको जिकिर गर्नुभयो ।
सचिव पौडेलले अहिलेसम्म नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्न नसक्नु दुःख लाग्दो र अपरिपक्व सरकारको चित्रण रहेको जिकिर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्