Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


सत्तापक्षले दुई–तिहाइको दम्भ देखायाे : हर्क साम्पाङ


182
Shares

काठमाडाैं ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकार गैरजिम्मेवार बनेको र संसदीय जवाफदेहिताबाट पन्छिन खोजेको आरोप लगाउनुभएकाे छ ।

सोमवार संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले बजेट तथा सरकारका मन्त्रीहरूका गतिविधिप्रति टिप्पणी गर्नुभएको हो ।

अध्यक्ष राईले बजेटमा करका दर हेरफेर र जनअपेक्षा सम्बोधन नभएको विषयमा विपक्षी दलहरूले उठाएका प्रश्नको सरकारले उचित उत्तर नदिएको बताउनु भयो । उहाँले पूर्वाधार विकासमन्त्रीले निर्माण कार्यमा ढिलाइ गर्ने ठेकेदारहरूको ‘खुट्टा भाँचिदिने’ भनी दिनुभएको पछिल्लो अभिव्यक्तिको आलोचना गर्नुभयो ।

सरकार अभिभावकीय भुमिकामा रहनुपर्ने उल्लेख गर्नुभयो । बजेटमा धरानको खानेपानी आयोजनाका लागि विनियोजित रकमका सम्बन्धमा राईले यो आफ्नो वर्षौँदेखिको एजेण्डा र ड्रिम प्रोजेक्ट भएको दाबी गर्नुभयो । अर्थमन्त्रीमाथि उठेका प्रश्न र संसदीय छानबिन समितिको मागका सम्बन्धमा उहाँले सत्तापक्षले दुई–तिहाइको दम्भ देखाएको टिप्पणी गर्नुभयो ।

यस्तै, संसदमा आफ्नो भुमिकाका विषयमा स्पष्ट पार्दै राईले आफू अन्यायको विरुद्धमा उभिएको बताउनु भयो । सभामुखले बोल्न नदिएका कारण आफूले प्रतिवाद गर्नुपरेको र त्यो कुनै व्यक्ति विशेषको विरोध नभई प्रक्रियाको सुधारका लागि भएको उहाँको तर्क थियो । उहाँले आगामी दिनमा पनि संसदमा जनताका मुद्दा र सरकारका कमी–कमजोरीमाथि निरन्तर प्रश्न उठाइरहने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।