२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


मध्यवर्ती क्षेत्रका निजी सम्पत्तिहरुको समस्या समाधान गर्न सरकार गम्भीर छ : वनमन्त्री ठकुरी


429
Shares

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले राष्ट्रिय निकुञ्जभित्र मध्यवर्ती क्षेत्रमा परेका निजी सम्पत्तिहरुको समस्या समाधान हुनेगरी अघि बढ्नुपर्नेमा मन्त्रालय सकारात्मक रहेको बताउनुभएको छ ।

बुधवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र विकासअन्तर्गत रहेका निजी भवन, जग्गा र उनीहरुले व्यवसायिक रुपमा आफ्ना अरु गतिविधिहरु गर्न नियमावलीले समस्या पारेको गुनासो रहेको भन्दै यसलाई सरलीकरण गर्न मन्त्रालय तयार रहेको वनमन्त्री ठकुरीले बताउनुभयो ।

मन्त्री ठकुरीले मध्यवर्ती क्षेत्र विकास समितिको हालको विद्यमान अवस्था केही फरक रहेको भन्दै यसलाई संशोधनकर्ताहरुको संशोधन र छलफलबाट ऐनको परिभााषामै फेरबदल गर्नुभन्दा नियमावलीमा गएर केही सरल गर्नुपर्नेतर्फ सरकारले सोचिरहेको बताउनुभयो ।

मन्त्री ठकुरीले भन्नुभयो, ‘अहिले देखिएका समस्यालाई समाधान गर्न नियमावलीमा जे जति मिलाउन सकिन्छ, त्यो गर्न मन्त्रालय गम्भीर र सकारात्मक छ । राष्ट्रिय निकुञ्ज भित्रको त्यो निजी आवास, निजी जग्गाहरु, निजी घरहरु परेको, उनीहरुले व्यवसायिक रुपमा आफ्ना अरु गतिविधिहरु गर्न नियमावलीले समस्या पारेको जुनकुरा छ, त्यसलाई कुन ढंगले सहज गर्न सकिन्छ, त्यसमा मन्त्रालय सकारात्मक छ ।’

समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित दफा ९ र ७२ माथि छलफल भएको हो ।